काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र गुट–उपगुटको प्रवृत्ति बढ्न थालेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।
महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले पुरानै राजनीतिक शैली र समूहगत स्वार्थ बोकेर अघि बढे रास्वपाले अपेक्षित परिवर्तन दिन नसक्ने बताएका हुन्। फरक परिणाम चाहिने हो भने फरक सोच र व्यवहार आवश्यक रहेको उनको भनाइ थियो।
लामिछानेले केही प्रतिनिधि गलत उद्देश्यका साथ प्रभावित भएर आएको हुन सक्ने आशंका पनि व्यक्त गरे। कसैले महाधिवेशन प्रतिनिधि बनाउन सहयोग गरेको भए धन्यवाद दिन आग्रह गर्दै उनले भोट भने योग्य र सक्षम उम्मेदवारलाई दिनुपर्ने बताए।
पार्टी नेतृत्व चयनमा आफू कुनै पक्षमा नलागेको दाबी गर्दै उनले केन्द्रीय समितिमा पुग्ने व्यक्तिहरूको छनोट विवेकपूर्ण ढंगले गर्न प्रतिनिधिहरूलाई आग्रह गरे। पार्टीभित्र गलत प्रवृत्तिको सानो बीउसमेत रोपिन नदिनुपर्नेमा उनको जोड थियो।
बन्दसत्रमा उनले पार्टीभित्र विभिन्न अफवाह फैलाउने प्रयास भइरहेको संकेत गर्दै कसैले भनेकै भरमा मतदान नगर्न आग्रह गरे।

