मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी

काठमाडौं । सरकारले मेडिकल शिक्षामा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने तयारी गरेको छ । शिक्षा सचिव चुडामणि पौडेलले उक्त जानकारी गराएका हुन् ।
मंगलवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले मेडिकल शिक्षा अध्ययनका लागि नेपालमा आउन चाहने विदेशी विद्यार्थीको सबभन्दा बढी आकर्षण भएकाले उनीहरुका लागि कोटा थप गर्ने नीतिगत निर्णय लिने तयारीमा सरकार रहेको स्पष्ट पारेका छन् । उनले नेपालका विश्वविद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीका लागि स्टुडेन्ट भिसामा सहजीकरण गर्ने विषयमा पनि गृह मन्त्रालयसँग कुरा भइरहेको बताए ।
सचिव पौडेलले भने,‘यो विदेशी विद्यार्थीहरु ल्याउने सन्दर्भमा पनि अहिले हामीसँग लगभग १४ सय जति विभिन्न देशका विद्यार्थीहरु नेपालका विभिन्न विश्वविद्यालयहरुमा अहिले पनि पढिरहेका छन् । यसलाई स्टुडेन्ट भिसामा कसरी सहजीकरण गर्न सकिन्छ भनेर गृह मन्त्रालयसँग छलफल पनि हामीले अगाडि बढाएका छौँ । र विशेषगरी विदेशी विद्यार्थीहरुका सबभन्दा बढी आकर्षण मेडिकल शिक्षामा देखिएको हुँदा मेडिकल शिक्षामा विदेशी विद्यार्थीहरुको कोटा बढाउन सकिन्छ भन्ने हिसावले नीतिगत रुपमा निर्णय गर्ने हिसावले सरकार अगाडि बढिरहेको पनि म यहाँहरुलाई निवेदन गर्न चाहन्छु ।’
सचिव पौडेलकाअनुसार करिव १ हजार ४ सय जति विभिन्न मुलुकका विद्यार्थीले नेपालको विश्वविद्यालयहरुमा अध्ययन गरिरहेका छन् । ती मध्ये सबैभन्दा बढी आकर्षण भने मेडिकल शिक्षामा रहेको उनले बताएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार