विपक्षीले फेरे विरोध शैलीः बालेनलाई कटाक्ष गर्दै काँग्रेस सांसदले सुनाइन् कविता

काठमाडौं । नेपाली काँग्रेसकी सांसद सीता थपलियाले प्रधानमन्त्री बालेन्द्र साहलाई देश बिर्सिएर कसको शासन बन्न लागेको भन्दै प्रश्न गरेकी छन् । बिहीवार प्रतिनिधिसभाको बैठकमा उनले ‘देश बिर्सिएको दिन’ शिर्षकको कविता सुनाउँदै उक्त प्रश्न उठाएकी हुन् ।

प्रधानमन्त्रीले देश, माटो र जनताप्रतिको जिम्मेवारी बिर्सिएको उनको भनाई छ । राष्ट्रियता, जनताको विश्वास र आफ्नो जिम्मेवारीबाट विमुख नहुन उनले प्रधानमन्त्रीलाई आग्रह गरिन्। उनले माटो छोएर कसम खानेहरू नै पछि त्यही माटोमाथि प्रश्न गर्न थालेको बताइन् । सांसद थपलियाले स्वार्थले प्रेरित भएपछि मानिसले धेरै कुरा बिर्सन सक्ने भएपनि आफूलाई विश्वास गरेर मत दिने जनता, जनताको आधार बनेको माटो तथा आशिष दिने बाबुआमालाई कहिल्यै नबिर्सन आग्रह गरेकी छन् । बिर्सने प्रवृत्ति निरन्तर बढ्दै गएमा देश नै बिर्सिने अवस्था आउन सक्ने चेतावनी दिँदै उनले जुन दिन देश बिर्सन्छौ, त्यो दिन तिमी कसको शासक बन्ने छौँ ? भन्ने प्रश्न गरिन् ।

यस्तो छ, सांसद थपलियाको कविता

‘देश बिर्सिएको दिन’
तिमीले देश बनाउँछु भन्यौ, म ढुक्क थिएँ
तर एकाएक तिम्रो बोलीको प्रतिध्वनी पनि नमेटिँदै
आफ्नै आमाको अस्मिता माथि औंला उठायौ
माटो छोएर कसम खायौ
तर त्यही माटोमाथि प्रश्न गर्न थाल्यौ
अनि आमाको महिमा गाइरह्यौ
तर सन्तान हुनुको कर्तव्य भुल्यौ
काख र कोखको माया बिर्सियौ
त्यसैले आज म ढुक्क होइन,
मेरो मन देशको चिन्ताले ढुकढुक भैरहेको छ
स्वार्थले प्रेरित भएपछि सायद धेरै कुरा बिर्सन सकौला
तर नबिर्स तिमीमाथि असिम भरोसा बोकेर
मतको भारी बिसाउने जनतालाई नबिर्स
जनता उभिएको माटोलाई नबिर्स
तिमीलाई आशिष दिने ती बा–आमालाई नबिर्स
यसरी बिर्सने सिलसिला बढ्दै गयो भने
एक दिन तिमीले देशलाई नै बिर्सन सक्छौँ
तर जुन दिन देश बिर्सन्छौँ, त्यो दिन तिमी कसको शासक बन्नेछौँ ?
भन तिमी त्यो दिन कसको शासक बन्नेछौँ ?

प्रधानमन्त्री साहले नेपालले भारतको भूमी मिचेको छ भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलहरुले त्यसको विरोध गर्दै आएका छन् । सोही विरोधको स्वरुपमा सांसद थपलियाले संसदमा कविता सुनाएकी हुन् ।

सम्बन्धित समाचार

ताजा समाचार