काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानाले बढ्दो मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि तत्काल प्रभावकारी परियोजना निर्माण गरी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।
प्रतिनिधिसभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएकी हुन् । उनले हात्तिको समस्या नयाँ विषय नभएपनि पछिल्लो समय मानव–वन्युजन्तुबीच द्वन्द्वको रुपमा सिर्जना भएको बताइन् । उनले झापाको मेचीनगर–४ की स्थानीय पद्मा पौडेलको निधन हुनु यसको ताजा उदाहरणको रुपमा प्रश्तुत गर्दै स्थानीयमाथि हात्तिको आक्रमण रोक्न सभामुखमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराइन् ।
उनले भनिन्,‘यसको समाधानको लागि तत्कालिन सरकारले भारत र नेपालबीच पूर्वसूचना प्रवाह गर्ने योजना अघि बढाएको थियो । यो समस्या गम्भीर रुपमा देखापरेको छ । हामीलाई समेत स्थानीयले सदनमा बोल्ने तर केही उपलब्धीमुलक काम नगर्ने आरोप लगाउन थालेको हुनाले यसतर्फ सरकारको गम्भीर ध्यान जाओस् ।’
पछिल्लो समय हात्तीका कारण मानवीय, कृषि पशु तथा बाली र घरगोठमा क्षति हुने क्रम बढेकाले समाधानका लागि सरोकारवालासँग सहकार्यमा समाधानको उपाय पहिल्याउन समेत सरकारलाई आग्रह गरिन् ।

