काठमाडौं । काठमाडौंको नरेफाँट क्षेत्रमा एक युवकमाथि धारिलो हतियार प्रहार भएको घटना सार्वजनिक भएको छ। शुक्रबार दिउँसो करिब २ बजेतिर भएको उक्त घटनामा सिरहाको कर्जन्हा नगरपालिका–१० घर भई हाल नरेफाँट बस्दै आएका १८ वर्षीय करणकुमार साह घाइते भएका हुन्।
घाइते साहले आफूमाथि अभिषेक यादव, धनराज यादवसहित ५र६ जनाले आक्रमण गरेको भन्दै प्रहरी वृत्त नयाँ बानेश्वरमा उजुरी दिएका छन्। आक्रमणमा संलग्न भनिएका अभिषेक यादव र धनराज यादव दुवै धनुषा घर भई हाल ललितपुरको टिकाथली क्षेत्रमा बस्दै आएका छन्।
पीडितका अनुसार आक्रमणबाट उनको हात, ढाड, घाँटी र टाउकोमा चोट लागेको छ। प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक अनुसन्धानमा घटनाको कारण पारिवारिक विवाद रहेको खुलेको प्रहरीले जनाएको छ।

