काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका क्याम्पसलाई नियमन गर्न नयाँ नियमावली ल्याउन लागेको जानकारी दिएका छन् ।
आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उनले विदेशी विश्वविद्यालयसम्बद्ध कलेजका सन्दर्भमा धेरै गुनासो आएकोले नियमन गर्नको लागि नियमावली ल्याउन लागेको जानकारी दिएका हुन् ।
उनकाअनुसार शिक्षा मन्त्रालयले नियमावलीको मस्यौदा तयार गरी अर्थ र कानून मन्त्रालयमा पठाएको छ । ती मन्त्रालयको स्वीकृत तथा रायपछि मन्त्रिपरिषद्मा पेश गरिने उनले जानकारी दिए ।
विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेज प्रभावकारी रूपमा नियमन हुन नसकेको उनको भनाइ छ । विदेशी विश्वविद्यालयसम्बद्ध कलेजलाई कुन आधारमा सम्बन्धन दिने, कुनलाई नदिने तथा नियमनको ढाँचा कस्तो हुने भन्ने विषय नियमावलीमार्फत स्पष्ट गर्ने उनले बताए ।
नेपाली विश्वविद्यालय र कलेज नियमनमा रहेपनि विदेशी सम्बन्धन प्राप्त कलेजहरू व्यवस्थित रूपमा नियमन हुन नसकेको उनले बताए ।उनकाअनुसार शिक्षा मन्त्रालयले हाल तीन वटा नियमावली एकसाथ अघि बढाइरहेको छ ।
त्यसमध्ये शिक्षा नियमावली, शैक्षिक परामर्श (कन्सल्टेन्सी) संस्था नियमनसम्बन्धी नियमावली तथा विदेशी विश्वविद्यालयसम्बद्ध कलेज नियमनसम्बन्धी नियमावली रहेका छन् ।

