काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द विरुद्ध पदको दुरुपयोगसहित विभिन्न आर्थिक तथा प्रशासनिक अनियमितताका आरोप उठेका छन्। ती आरोपबारे स्पष्ट जवाफ दिन राष्ट्रिय खेलकुद परिषद (राखेप) ले क्यानलाई पाँच दिनको समय दिएको छ।
राखेपले क्यानलाई औपचारिक पत्र पठाउँदै अध्यक्ष चन्दविरुद्ध विभिन्न निकायमा उजुरी परेको जानकारी गराएको हो। साथै, उजुरीसँग सम्बन्धित तथ्य, प्रतिक्रिया र प्रमाणित कागजात निर्धारित समयभित्र पेश गर्न निर्देशन दिएको जनाएको छ।
जानकारीअनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग मा २०८३ वैशाख १६ गते अध्यक्ष चन्दविरुद्ध उजुरी दर्ता गरिएको थियो। त्यसपछि आयोगले वैशाख २९ गते युवा तथा खेलकुद मन्त्रालयलाई आवश्यक छानबिनका लागि पत्राचार गरेको थियो। मन्त्रालयले पुनः वैशाख ३१ गते राखेपलाई १० दिनभित्र आवश्यक विवरण उपलब्ध गराउन निर्देशन दिएको बताइएको छ।
उजुरीमा क्यानका अध्यक्ष, कोषाध्यक्ष तथा अन्य पदाधिकारीमाथि सार्वजनिक रकमको दुरुपयोग गरेको आरोप लगाइएको छ। साथै, अमेरिकामा सम्पन्न विश्वकप भ्रमणका क्रममा भएको खर्च, कर्मचारी नियुक्ति प्रक्रिया, अपाङ्गता भत्ता वितरण, वार्षिक साधारणसभा सञ्चालन तथा विश्वकप जर्सी र टिकट व्यवस्थापनमा अनियमितता भएको दाबी गरिएको छ।

