काठमाडौं । प्रतिनिधिसभामा दुईवटा संशोधन विधेयक दर्ता भएका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा दुईवटा महत्त्वपूर्ण संशोधन विधेयकहरू प्रस्तुत गरिएका छन्। बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाह (बालेन)को तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले व्यवस्थापन कार्यअन्तर्गतका विधेयकहरू सदनमा पेस गरेकी हुन् ।
मन्त्री गौतमले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्दै उक्त विधेयक सदनमा पेस गरिन् । त्यसैगरी, मन्त्री गौतमले नै ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ लाई पनि सदनसमक्ष प्रस्तुत गरिन् ।
विधेयकमा नेपालको संविधानको धारा ८४ (२) अनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधित्व सुनिश्चित गर्न जनसंख्याको आधारमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारू, मुस्लिम तथा पिछडिएको क्षेत्रका समुदायको सहभागिता समेट्ने व्यवस्था संशोधन गर्न खोजिएको उल्लेख छ।
०७८ सालको राष्ट्रिय जनगणनाको तथ्यांकअनुसार विभिन्न समुदायको जनसंख्या प्रतिशत अद्यावधिक भएकाले सोही आधारमा समानुपातिक प्रतिनिधित्वको प्रतिशत कायम गर्न आवश्यक परेको भन्दै सरकारले संशोधन प्रस्ताव अघि सारेको जनाएको छ।

