काठमाडौं । भारतका कन्टेन्ट क्रियटरहरूलाई नेपाल भ्रमण गराएर देशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नयाँ दिल्लीस्थित नेपाली दूतावासले विशेष कार्यक्रम सार्वजनिक गरेको छ ।
दूतावासले बुधबार सूचना जारी गर्दै भारतीय इन्फ्लुएन्सर, भ्लगर तथा पोडकास्टरमध्ये पाँच जनालाई छनोट गरी नेपाल भ्रमण गराइने जनाएको हो । कार्यक्रममार्फत नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, धार्मिक तथा आध्यात्मिक गन्तव्य र साहसिक पर्यटनलाई भारतीय दर्शकमाझ डिजिटल माध्यमबाट प्रचार गर्ने लक्ष्य राखिएको छ ।
यस अवसरका लागि भारतका नागरिक वा भारतमै बसोबास गर्दै आएका डिजिटल सामग्री निर्माता आवेदन दिन सक्नेछन् । युट्युब, इन्स्टाग्राम, फेसबुक, एक्सजस्ता सामाजिक सञ्जालमा सक्रिय भई यात्रा, संस्कृति, खानपान, अध्यात्म, साहसिक गतिविधि वा पर्यटनसम्बन्धी सामग्री बनाउनेहरूलाई प्राथमिकतामा राखिने दूतावासले जनाएको छ ।
त्यस्तै, गुणस्तरीय भिडिओ, रिल्स, पोस्ट तथा भ्लग निर्माण गर्न सक्ने, साथै जिम्मेवार पर्यटन र सांस्कृतिक संवेदनशीलताको विषयमा सचेत कन्टेन्ट क्रियटरलाई छनोट प्रक्रियामा विशेष महत्व दिइने बताइएको छ ।

