काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेससँग सहकार्य गर्ने भएको छ । नेकपा एमालेको मंगलवार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।
एमालेले प्रत्येक प्रदेशमा १/१ जना उम्मेद्वार रहनेगरी काँग्रेससँग सहकार्य गर्नेगरी छलफल गरेको एमालेका उपमहासचिव लेखराज भट्टले जानकारी दिए । बैठकले काँग्रेससँग गठबन्धनको सिट टुंगो लगाउने र उम्मेद्वार छान्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । काँग्रेससँगको छलफल टुंगोमा नपुगेकोले थप छलफल गर्नको लागि अध्यक्ष ओलीलाई जिम्मा दिइने निर्णय गरेको उपमहासचिव भट्टले जानकारी दिए ।
बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको तयारीका लागि पनि विभिन्न कमिटीहरु बनाउने निर्णय गरेको उनले बताए । उनकाअनुसार अध्यक्ष ओलीको संजोजकत्वमा उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल, महासचिव शंकर पोखरेल, ईश्वर पोखरेल, प्रदीप ज्ञावली र विष्णु रिमाल सदस्य रहनेगगरी घोषणापत्र मस्यौदा कमिटी बनाउने निर्णय गरिएको छ । बैठकले एमाले उपाध्यक्ष राम बहादुर थापाको संयोजकत्वमा विष्णु रिमाल, छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल र भिस्म अधिकारी सदस्य रहेको निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
उनले भने, ‘राष्ट्रिय सभाको सदस्यको लागी नेपाली कांग्रेससंग अहिले पनि छलफल भईरहेको छ । टुंगोमा पुगेको छैन । त्यो टुंगामा पु¥याउने र उम्मेद्वार को को लाई बनाउने भन्ने अधिकार अध्यक्षलाई दिएको छ । सात वटै प्रदेशमा १÷१ जना उम्मेद्वारी दिने हिसावले गर्ने हिसाबले नेपाली कांग्रेससंग छलफल भएको जानकारी गराउन चाहन्छु । त्यसैगरि आम निर्वाचनको तयारीको शिलशिलामा घोषणापत्र मस्यौदा कमिटिमा पार्टी अध्यक्षको संयोजकत्वमा उपाध्यक्षदय रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, ईश्वर पोखरेल, प्रदिप ज्ञावली र विष्णू रिमाल रहेको घोषणापत्र मस्यौदा कमटी बनाउने निर्णय भएको छ ।’
बैठकले निर्वाचनसम्बन्धी काम गर्नको लागी पार्टीका पदाधिकारी र केन्द्रिय सदस्यहरुलाई परिचालन गर्ने निर्णय समेत उपमहासचिव भट्टले बताए । उनले नवनिर्वाचित युवा केन्द्रिय सदस्यलाईहरुलाई परिचालन गर्ने जानकारी दिए । भट्टकाअनुसार निर्वाचनको लागि प्रदेश र निर्वाचनको संयोजक रहनेगरी कोशीमा शेरधन राई, मधेसमा लीलानाथ श्रेष्ठ, वागमतीमा महेश बस्नेत, राजधानीमा डा. राजन भट्टराई, गण्डकीमा खगराज अधिकारी, कर्णालीमा यामलाल कँडेल, सुदूरपश्चिममा गणेश ठगुन्ना, संगठन विभागमा भानुभक्त ढकाल, प्रचारमा विभागमा मिनबहादुर शाही र निर्वाचन विभागमा रमेश बडाललाई जिम्मेवारी दिइएको छ ।
खाली रहेका जिल्ला इन्चार्ज तथा संयोजकहरुको ठाउँमा पनि जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

