काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा बुधबार बिहानैदेखि असहज वातावरणमा परिणत भयो। विशेष महाधिवेशनको मागलाई लिएर असन्तुष्ट पक्षका कार्यकर्ताले कार्यालय घेराउ गरेपछि पार्टीभित्रको आन्तरिक विवाद सडकस्तरसम्म आइपुगेको देखियो।
कार्यसम्पादन समिति बैठक बस्नुअघि नै कार्यकर्ताहरूले नेताहरूलाई कार्यालय प्रवेश गर्न अवरोध गरेपछि स्थिति तनावग्रस्त बन्यो। विशेष महाधिवेशनबारे नेतृत्वले स्पष्ट निर्णय नगरेको आरोप लगाउँदै कार्यकर्ताहरू आक्रोशित बनेका थिए।
कार्यालयको पछाडिको बाटो हुँदै प्रवेश गर्न खोज्दा नेता विमलेन्द्र निधि र कार्यकर्ताबीच चर्को भनाभनसमेत भयो। आफूलाई रोक्नेहरू कांग्रेसकै कार्यकर्ता नभएको दाबी गर्दै निधि आक्रोशित स्वरमा प्रस्तुत भएपछि केहीबेर वातावरण झन् तातिएको थियो। विवाद चर्किएपछि मात्र उनी कार्यालयभित्र प्रवेश गर्न सफल भए।
अन्य नेताहरूलाई पनि कार्यालय प्रवेश गर्न कठिनाइ परेको थियो। राष्ट्रियसभा सदस्य निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बिहान ११ बजेका लागि बोलाइएको कार्यसम्पादन समिति बैठक अवस्था सामान्य नभएपछि दिउँसो १ बजेसम्मका लागि सारियो।
स्थिति नियन्त्रणमा लिन कांग्रेस कार्यालय परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। विशेष महाधिवेशनको विषयले कांग्रेसभित्रको असन्तोष कति गहिरो छ भन्ने संकेत आजको घटनाक्रमले स्पष्ट रूपमा देखाएको छ।

