काठमाडौं । नेकपा (एमाले)का संसदीय दलका उपनेता पद्मा अर्यालले आर्थिक रूपान्तरणका लागि राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न हुनुपर्ने बताएकी छन् ।
प्रतिनिधिसभा बैठकमा आज वार्षिक नीति तथा कार्यक्रममा संशोधन प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएकी हुन्। देशको आर्थिक समृद्धिका लागि कृषिलाई आधुनिक बनाउन र सोही अनुसारको वातावरण बनाउन सुझाव दिइन् ।
भूमिहिनहरूलाई व्यवस्थित गरेपछि बस्तीबाट हटाएको भए उचित हुने सुझाव दिदै उनले भूमिहिनको व्यवस्थापनको चुनौति रहेको बताइन् । गरिब जनताको आधारभूत आवश्यकता उपलब्ध गराउनमा सरकार सचेत हुनुपर्ने उनले बताइन् ।
मुलुकबाट गरिबी हटाउन स्पष्ट कार्ययोजनाको खाँचो रहेको बताउँदै उनले सहकारीको दीर्घकालीन समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराइन् । विदेशिने युवाको सन्दर्भमा व्यवस्थापनको स्पष्ट योजना नीति तथा कार्यक्रममा सम्बोधन नआएको बताउँदै उनले युवालाई स्वरोजगार बनाउनेतर्फ ध्यान दिन सरकारसँग आग्रह गरेकी छन् ।
आन्दोलनका क्रममा जनधनको क्षति भएको र त्यसको क्षतिपूर्तिबारेमा नीति तथा कार्यक्रम मौन रहेको बताउँदै उनले त्यसमा ध्यान दिन सरकारसँग आग्रह गरेकी छन् । सरकार सफल होस् भन्नेमा आफूहरू रहेको बताउँदै उनले सरकार सफल भए देश पनि सफल हुने चर्चा गरिन् ।

