काठमाडौं । सरकारले फिफाले एन्फालाई निलम्बन गरेको विषय अहिलेको सरकारले हस्तक्षेप गरेकाले मात्र नभएको बताएको छ । बिहीवार बसेको मन्त्रीपरिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यस्तो बताएका हुन् ।
यसअघिका सरकारले विभिन्न समयमा विभिन्न चरणका हस्तक्षेप भएका कारण यो अवस्था आएको दाबी गरे । नेपाली फुटबल अब यो भन्दा तल जाने ठाउँ नरहेको भन्दै खेलकुदलाई वर्तमान सरकारले माथि उठाउने जिकिर गरे । उनले अहिले एन्फासम्बन्धी धेरै भ्रष्टाचारका उजुरीहरू धेरै परेको र राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्षको अध्यक्षतामा छानबिन समिति गठन गरेको स्पष्ट पारे । एन्फाका पदाधिकारीहरू विश्वकपमा नेपालको फुटबलले केही न केही उपलब्धि हासिल गरेपछि मात्रै जान पाउने बताए । फिफा र एएफसीका पदाधिकारीहरूलाई वार्ताका लागि बोलाइसकेको बताउँदै उनीहरु आएपछि विस्तृत छलफल गरिने बताए । नेपालको फुटबललाई जसरी भएपनि माथि उठाउने अठोट अहिलेको सरकारको रहेको र अब बन्ने एन्फामा राजनीतिक आधारमा नभइ नेपालको फुटबलमा योगदान दिएका पूर्वखेलाडीहरू तथा फुटबललाई माया गर्ने र खेललाई राम्रोसँग बुझ्ने व्यक्तिहरूलाई नेतृत्वमा ल्याउने योजना रहेको बताएका छन् ।
उनले भने, ‘अहिलेसम्म हेर्दा सरकारबाट एन्फामा विगतमा धेरै पटक हस्तक्षेप भएको थियो । त्यसमा अहिले एन्फासम्बन्धी धेरै भ्रष्टाचारका उजुरीहरू पनि हामीलाई परेका छन् । धेरै उजुरी परेकाले राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्षको अध्यक्षतामा छानबिन समिति गठन गरेका छौँ । विभिन्न उजुरी परेकाले हामीले त्यसलाई अत्यन्त संवेदनशील रूपमा लिएका छौँ । उहाँहरूले छानबिनको प्रतिवेदन बुझाउनेबित्तिकै आवश्यकताअनुसार सम्बन्धित निकायमा पठाउने काम पनि गर्छौँ । अहिले फिफाले एन्फालाई निलम्बन गरेको विषय अहिलेको सरकारले हस्तक्षेप गरेकाले मात्र भएको होइन । विभिन्न समयमा विभिन्न तहबाट सरकारका तर्फबाट हस्तक्षेप हुँदै आएको थियो । यस पटक पनि उहाँहरूले विश्वकप हेर्न जानबाट रोकियो भनेर गुनासो गरिरहनुभएको छ । एन्फाका पदाधिकारीहरू विश्वकपमा त्यतिखेर जानुहुन्छ, जतिखेर नेपालको फुटबलले केही न केही उपलब्धि हासिल गरेको हुन्छ । नेपालीले विश्वकप नै खेल्नुपर्छ भन्नेकुरा होइन, तर कम्तीमा आशा देखिने अवस्था त हुनुप¥यो । लोकल डिभिजनका प्रतियोगिताहरू समेत नियमित रूपमा भइरहेका छैनन् । भ्रष्टाचार धेरै भइरहेको छ भन्ने प्रश्न उठिरहेको छ । नेपालमा फुटबल अहिलेसम्म अपेक्षित रूपमा विकास हुन सकेको छैन । योभन्दा तल जाने ठाउँ नै छैन । अब नेपालको फुटबल योभन्दा तल कहाँ जान्छ रु अब हामीले अगाडि कसरी बढ्ने भन्ने विषयमा म व्यक्तिगत रूपमा पनि विभिन्न विज्ञहरूसँग छलफल गरिरहेको छु । फिफासँग हाम्रो अन्तरक्रिया शुरु भइसकेको छ । हामीले फिफा र एएफसीका पदाधिकारीहरूलाई वार्ताका लागि बोलाइसकेका छौँ । उहाँहरू आउनुभयो भने स्वाभाविक रूपमा यस विषयमा विस्तृत छलफल हुन्छ । हामी नेपालको फुटबलप्रति अत्यन्त संवेदनशील छौँ । नेपालको फुटबललाई जसरी भए पनि माथि उठाउने अठोट हाम्रो छ । अब बन्ने एन्फामा राजनीतिक आधारमा होइन, नेपालको फुटबलमा योगदान दिएका पूर्वखेलाडीहरू तथा फुटबललाई माया गर्ने र खेललाई राम्रोसँग बुझ्ने व्यक्तिहरूलाई नेतृत्वमा ल्याउने हाम्रो योजना छ । राष्ट्रिय खेलकुद परिषद्मा हामीले नियुक्त गरेका पदाधिकारीहरू पनि अधिकांश खेलाडीहरू नै हुनुहुन्छ । त्यसैगरी अब बन्ने एन्फा पनि नेपालको फुटबललाई योगदान दिएका, फुटबललाई माया गर्ने र खेललाई राम्रोसँग बुझ्ने व्यक्तित्वहरूको संस्था बनाइन्छ । अहिले फिफाले एन्फालाई निलम्बन गर्दा हामी सबैलाई दुःख लागेको छ । तर अहिलेको अवस्था नै यस्तो छ कि योभन्दा तल जाने ठाउँ छैन । अब हामीले केही साहसिक कदम चाल्नुपर्छ, र त्यस्ता कदम चाल्न पनि थालेका छौँ। हामी एन्फालाई सुधार्छौँ, माथि उठाउँछौँ, र त्यसका लागि फुटबलप्रेमीहरूलाई नै नेतृत्वमा राख्छौँ । एन्फालाई राजनीतिक भर्ती केन्द्र बन्न दिँदैनौँ । यसलाई भ्रष्टाचारको अखडा बन्न पनि दिँदैनौँ । हामी जे गर्छौँ, फुटबलप्रेमीहरूलाई अगाडि राखेर गर्छौँ, र एन्फालाई सही दिशामा अघि बढाउँछौँ ।’
उनले अब बन्ने एन्फा पनि नेपालको फुटबललाई योगदान दिएका, फुटबललाई माया गर्ने र खेललाई राम्रोसँग बुझ्ने व्यक्तित्वहरूको संस्था बनाइने दाबी गरेका छन् ।

