काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकै पटक प्रतिनिधिसभा सदस्य निर्वाचन हुनेमा आशंका व्यक्त गरेका छन् । मंगलवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टी केन्द्रिय सचिवालय बैठकमा ओलीले यस्तो बिफ्रिङ गरेका हुन् ।
अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले निर्वाचनमा कसरी जाने भन्नेबारे नेतृत्वको बीचमा छलफल भइरहेको बताए । उनले अध्यक्ष ओलीले वाह्य रुपमा निर्वाचनको माहोल बनेको र त्यसमा तयारी गर्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएको पनि बताए । उनले आगामी निर्वाचनलाई आन्दोलनकै रुपमा लिनुपर्ने बताए । उनले अध्यक्ष ओलीले सरकारको गतिविधि र देशमा भइरहेको साम्प्रदायिक घटनाले निर्वाचन हुन्छ की हुँदैन भन्ने अन्यौलता सिर्जना गरेको बताएका छन् ।
उनले भने, ‘चुनावमा कसरी जाने, के जाने भन्नेकुरा नेतृत्वको बीचमा छलफल हुनेकुरा स्वभाविक नै हो । वाह्य रुपमा वातावरण बनेको जस्तो छ, त्यसको तयारी हामीले गर्नुपर्छ । हामी त यसलाई आन्दोलनकै रुपमा निर्वाचनलाई लिनुपर्छ भन्ने अध्यक्षको सम्बोधनमा सार रहेको छ । तयारी हाम्रो हुन्छ तर सरकारको जो गतिविधि छ, देशमा साम्प्रदायिकताका घटना जुन किसिमले भइरहेको छन्, त्यसले यो निर्वाचन हुन्छ की हुँदैन भन्ने अन्योलता छ । एकै पटक नहुन सक्ने स्थिति छ, त्यसले पर सार्नसक्छ, खण्ड खण्डमा गर्नसक्छ । त्यसको लागि पन मनोवैज्ञानिक रुपले तयार हुनुपर्छ भन्नुभयो ।’
उनले खण्ड खण्डमा निर्वाचन हुनसक्ने भन्दै त्यसबारे पनि मनोवैज्ञानिक रुपमा तयार रहन अध्यक्ष ओलीले निर्देशन दिएको बताएका छन् ।

