काठमाडौं । वागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले नेपालको आर्थिक उन्नति पर्यटन व्यवसायबाट मात्र सम्भव रहेको बताएका छन् । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आईतवार आयोजित ५८ औँ वार्षिकोत्सवमा उहाँले पर्यटन व्यवसाय फस्टाउन नसकेसम्म देशको आर्थिक उन्नति सम्भव नहुने बताएका हुन् ।
उनले प्रदेश सरकार पर्यटन क्षेत्रका व्यवसायीहरुको समस्यालाई समाधान गर्न तयार रहेको बताए । उनले बागमती प्रदेशका १३ वटै जिल्लामा पर्यटनको प्रचुर सम्भावना रहेको बताए । प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर यस क्षेत्रका समस्या समाधान गर्न तयार रहेको उनको भनाइ थियो । पर्यटन व्यवसाय अत्यन्त संवेदनशील रहेको उल्लेख गर्दै उनले ऐन–कानुन तथा विभिन्न राजनीतिक गतिविधिका कारण व्यवसायीले समस्या भोग्नुपरेको उल्लेख गरेका छन् ।
उनले भने, ‘हाम्रो आर्थिक उन्नतीबाटो तर्फ लाग्ने व्यवसाय भनेको नै पर्यटन व्यवसाय हो । यो व्यवसायलाई जबसम्म फस्टाउने बनाउन सक्दैनौ, व्यवसायीहरुलाई सहजीकरण गरेर सहज रुपमा व्यवसाय गर्ने वातावरण बनाउन सक्दैनौ । तलबसम्म यो देशको आर्थिक उन्नति हुन्छ भन्ने कुरामा म चाँही विश्वस्त छैन । यो देशको आर्थिक उन्नती गर्ने सम्भवना भएको पर्यटकीय क्षेत्र नै हो । यहाँ अन्य आय गर्ने कार्यमुलक क्षेत्रहरु छैनन् । पर्यटन क्षेत्रमा व्यवसायीहरुले अफ्ठ्यारा भोगेका कुराहरु मैले सुने, मैले सकेसम्म सहजीकरण गर्ने गरेको छु । यहाँ कतै सरकारका ऐन कानूनहरुबाट पनि व्यवसायीलाई समस्या छ, राजनितिक गतिविधिबाट पनि व्यवसायीहरुलाई समस्या छ । पर्यटकीय व्यवसाय भनेको एकदमै संवेदनशील व्यवसाय रहेछ । सानो सानो कुराले पनि यस क्षेत्रलाई असर गर्ने रहेछ । वागमति प्रदेशभित्र पर्यटनको प्रचुर सम्भवना छ । यहाँ भएका १३ वटा जिल्ला पर्यटकीय क्षेत्रमा प्रचुर सम्भवना भएका क्षेत्र हो । पर्यटन क्षेत्रमा काम गर्ने व्यवसायीहरुसंग प्रदेश सरकार सहकार्य गरेर काम गर्न पुर्ण रुपमा तयार छ । संघिय सरकारको कुरा मैले भन्न सक्दिन, बाग्मति प्रदेश सरकार पर्यटकीय क्षेत्रमा काम गर्ने व्यवसायीहरुलाई सहजीकरण गरेर तपाईहरुको अफ्ठ्यारो, गाह्रो साघुरो फुकाउन, समस्या समाधान गर्न पुर्ण रुपमा तयार छ ।’
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जान श्रेष्ठले पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा पर्यटन क्षेत्रमा ठूलो नोक्शानी भइरहेको बताए । विमानस्थल बनेपछि निजी क्षेत्रले होटल र पूर्वाधारमा ठूलो लगानी गरेपनि संचालनमा नआउदा व्यवसायी समेत मारमा परेको उनको भनाई छ । उनले अन्तर्राष्ट्रिय उडान नहुँदा ती लगानी जोखिममा परेकोले वमानस्थल सञ्चालनमा विशेष ध्यान दिन सरकारसंग आग्रह गरेका छन् ।
उनले भने, ‘भईरहेको पुर्वाधारलाई कसरी प्रयोग गर्ने भन्ने चुनौती छ । पोखरा र भैरहवामा अन्तार्राष्ट्रिय उडान हुने भनेर विमानस्थलहरु बने तर ती पूर्ण रुपमा सञ्चालनमा आउन सकेका छैनन । ती विमानस्थलहरु पुर्ण रुपमा संचालन हुन नसक्दा नेपाल आउन चाहने पर्यटकहरु आउन सकेका छैनन् । त्यसकारण भैरहवा र पोखराको विमानस्थल संचालन गर्नलाई सरकारले विशेष ध्यान दिनुपर्छ, त्यसमा म सरकारको ध्यानाकर्षण गराउँछु । भैरहवा र पोखरामा विमानस्थल बनेपछि त्यो अनुसार व्यवसायीहरु धेरैले लगानी गरेको छ, होटलहरु पनि खुले, विमानस्थल पुर्ण रुपमा संचालन नहुँदा, विदेशबाट पर्यटक नआउँदा होटलहरु, पर्यटन पुर्वाधारहरुमा गरेका जुन लगानी छ, त्यो ह्रास हुने अवस्थामा पुगेको छ । नोक्सान हुने अवस्थामा पुगेको छ, त्यसलाई बचाउनुपर्छ । यसमा पनि म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले हवाई टिकटमा लाग्ने भ्याटका कारण नेपाल पर्यटन प्रतिष्पर्धामा कमजोर बनेको बताएका छन् ।

