रास्वपा–बालेनसँग दूरी, प्रलोपासँग नजिकिँदै कुलमान

काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपालले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँग चुनावी सहकार्य गर्ने तयारी गरेको छ। लामो समयदेखि वैकल्पिक राजनीतिक शक्तिसँग संवादमा रहेका घिसिङले अन्ततः प्रलोपासँग हातेमालो गर्ने भएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग सहमति हुन नसकेपछि कुलमानले प्रलोपालाई रोजेको बुझिएको छ। दुई पक्षबीच आज साँझ ६ बजे औपचारिक सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी छ।

प्रलोपा अध्यक्ष परिषद्का सदस्य सुदन किरातीले आजै सहमति टुंगो लाग्ने जानकारी दिए। उनका अनुसार चुनावी तालमेल, साझा उम्मेदवारी र अभियान सञ्चालनबारे सहमति हुने छ।

प्रलोपाको संरक्षक भूमिकामा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वउर्जामन्त्री जनार्दन शर्मा रहेका छन्। स्मरणीय छ, जनार्दन शर्मा उर्जामन्त्री हुँदा नै कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा ल्याइएको थियो।

राजनीतिक वृत्तमा कुलमान–प्रलोपा सहकार्यलाई आगामी निर्वाचनमा नयाँ समीकरणको संकेतका रूपमा हेरिएको छ।

सम्बन्धित समाचार

ताजा समाचार