काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज आइतबार कर्णाली याक्स र काठमाडौँ गोर्खाजबीच रोचक प्रतिस्पर्धा हुने भएको छ।
दुवै टोलीका लागि प्लेअफ सम्भावना जोगाइराख्नैपर्ने भएकाले खेललाई ‘अहम् भिडन्त’ मानिएको छ। निर्धारित खेल अपराह्न ३ः३० बजे सुरु हुनेछ । सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्सले अहिलेसम्म चार खेल खेलेको छ, जसमा उसको प्रदर्शन कमजोर देखिएको छ। कर्णालीले केवल एक जीत हासिल गर्दै दुई अंकसहित तालिकाको छैटौँ स्थानमा छ । प्रतियोगितामा टिकिरहन आजको खेल जित्नु कर्णालीका लागि अनिवार्यजस्तै बनेको छ ।
उता करण केसीको नेतृत्वमा रहेको काठमाडौँ गोर्खाज यसअघि खेलिएका पाँच खेलमध्ये तीनमा विजयी रहँदै तेस्रो स्थानमा उक्लिएको छ। तर प्लेअफ नजिकिएसँगै प्रतिस्पर्धा कडा बनेको छ, र अंक तालिकामा आफ्नो स्थिति मजबुत बनाउन काठमाडौँका लागि पनि आजको खेल उत्तिकै महत्वपूर्ण मानिएको छ ।

