काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रिय पार्टी कार्यालयमा आइतबारदेखि सरसफाइ थालिएको छ ।
केन्द्रिय सदस्य अब्दुल सत्तारका अनुसार कार्यालयलाई पुरानै स्वरूपमा फर्काउन एक महिनाभित्रै सरसफाइ तथा मर्मत कार्य पूरा गर्ने लक्ष्य राखिएको छ । सरसफाइमा पार्टीका केन्द्रिय सदस्यदेखि स्थानीय युवासम्म सक्रिय रुपमा सहभागी भइरहेका छन् ।
कार्यालय वरिपरि जलिसकेका कागजात, कुर्सी, फर्निचर लगायतका सामग्री हटाउने काम आजदेखि सुरु भएको छ । नियमित रूपमा प्रत्येक दिन सरसफाइ अभियान चलाइने र त्यसपछि भवन मर्मत तथा पुनर्निर्माणको प्रक्रिया अघि बढाइने बताइएको छ ।
सरसफाइमा संलग्न कार्यकर्ताहरूका अनुसार पार्टी कार्यालय भित्रका धेरैजसो कोठा पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । आगलागीका कारण पुरै संरचना नष्ट भए पनि पार्टीले चाँडै कार्यालयलाई पुनः सुचारु बनाउने तयारी गरेको छ ।

