देउवा, गगन, विश्वप्रकाशदेखि विनोद चौधरीसम्मका घर जले, पार्टी कार्यलयमा कति भयो क्षति ?

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित ३६ केन्द्रीय नेताको घरमा आन्दोलनकारीहरूले आगजनी गरेका छन्।

कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा १० करोड बराबरको क्षति भएको बताए ।

सार्वजनिक गरेको विवरणअनुसार, सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्काको काठमाडौं र सुर्खेतस्थित घर, महामन्त्री गगन थापाको रातोपुलस्थित घर, अर्का महामन्त्री विश्वप्रकाश शर्माको ललितपुरमा रहेको डेरा र झापास्थित घर, सहमहामन्त्री उमाकान्त चौधरीको बारास्थित घर, सहमहामन्त्री महेन्द्र यादवको धनुषास्थित घर, सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको काठमाडौंको डेरामा रहेका सामान तथा कोषाध्यक्ष उमेश श्रेष्ठका चितवनमा रहेका दुई घर जलाइएको उल्लेख छ।

त्यस्तै, आन्दोलनकारीहरूले पूर्वउपसभापति गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, डा. शशांक कोइरालाको घर पनि ध्वस्त पारिएका छन्।

यस्तै पूर्वसहमहामन्त्री डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य डा. शेखर कोइराला, सञ्जय गौतम, कृष्णचन्द्र नेपाली पोखरेल, शंकर भण्डारी, दीपक गिरी, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, मोहनबहादुर बस्नेत, रामजनम चौधरी, डा. गोपाल दहित, मदनकृष्ण श्रेष्ठ, अर्जुनप्रसाद जोशी, आनन्द ढुंगाना, राजेन्द्र केसी, विनोद चौधरी, गेहेन्द्र गिरी, राजीव ढुंगाना र अनिल रुङगटाको समेत घर जलेको विवरणमा उल्लेख गरिएको छ।

यसैगरी, पार्टीका बागमती प्रदेश सभापति इन्द्र बानिया र मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवको घर पनि आगजनीबाट क्षतिग्रस्त भएको छ।

आइतबारको कार्यक्रममा भदौ २४ गते भएको हिंसात्मक घटनामा पार्टी केन्द्रीय कार्यालयसहित देशभर भएका क्षतिको विवरण सार्वजनिक गरिएको थियो। त्यस्तै, कार्यालयको सरसफाइ अभियान पनि सुरु गरिएको छ।

कार्यक्रममा विभाग प्रमुख मीन विश्वकर्माले क्षतिको विवरण प्रस्तुत गर्दै सरसफाइ कार्यबारे जानकारी दिएका थिए। केन्द्रीय सदस्य अब्दुल सत्तारले एक महिनाभित्रमा केन्द्रीय कार्यालय पूर्ण रूपमा सरसफाइ गरिने बताएका छन्। सो अभियानमा केन्द्रीय सदस्यहरूसहित कार्यकर्ताहरूको सक्रिय सहभागिता रहेको छ।

सम्बन्धित समाचार

ताजा समाचार