काठमाडौं । सरकारले साझा यातायातका बसको रङ परिवर्तन गरी महिलाका लागि निःशुल्क ‘ब्लु बस’ सञ्चालनमा ल्याउने भएको छ । सरकारको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची अनुसार महिलाको सुरक्षित आगमन सुनिश्चित गर्न, सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने र पहिलो चरणका सय दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालनमा ल्याउने प्रतिबद्धता अनुसार ‘ब्लु बस’ सञ्चालनमा ल्याउन लागिएको होे ।
साझाका आठ वटा विद्युतीय बसलाई पहिलो चरणमा ‘ब्लु बस’ बनाएर साउनदेखि सञ्चालन गर्न लागिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । बुढानीलकण्ठदेखि लगनखेल गोदावरीसम्म दुई वटा, नागढुङ्गादेखि एयरपोर्टसम्म दुई वटा र चक्रपथमा चार वटा विद्युतीय बस सञ्चालन गर्न लागिएको छ ।
४० वटा विद्युतीय बस सञ्चालन गरेको साझाले सरकारसँगको सहमति अनुसार आठ वटा विद्युतीय बसलाई ‘ब्लु बस’ बनाउने छ । यसको व्यवस्थापन पनि साझाले नै गर्ने भएको छ । तत्कालका लागि आठ वटा बस सञ्चालन गर्न लाग्ने आवश्यक खर्च स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको । बजेट स्वीकृति हुनासाथ बस सञ्चालन गरिने साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालले बताए ।
उहाँका अनुसार विद्युतीय बसमा दैनिक १० हजार रुपियाँ खर्च आउने गर्छ । एउटा बसको वार्षिक ३६ लाख रुपियाँ हुँदा सरकारले आठ वटा बसको वार्षिक तीन करोड रुपियाँ न्यूनतम खर्चको जोहो गर्नुपर्ने देखिन्छ ।

