मन्त्रीहरूले धमाधम दिँदै राजीनामा

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध सुरु भएको ‘जेनजि’ आन्दोलन पछिल्ला दिनमा हिंसात्मक रूप लिँदा कम्तीमा १९ जनाको ज्यान गएपछि सरकारले चर्को दबाब खेपिरहेको छ । यसैबीच सरकारभित्रकै मन्त्रीहरूले समेत नैतिक जिम्मेवारी स्वरूप राजीनामा दिन थालेका छन् ।

गृह मन्त्री रमेश लेखक ले आइतबार भएको रक्तपातको घटना र सुरक्षाकर्मीको अत्यधिक बल प्रयोगप्रति जिम्मेवारी स्वीकार गर्दै सोमबार राजीनामा दिएका छन् । लेखकले आन्दोलनकारीमाथि गोली प्रहार भएपछि उत्पन्न परिस्थितिप्रति दुःख व्यक्त गर्दै सरकारलाई सहज बनाउन आफू अलग भएको घोषणा गरेका हुन्।

उनको राजीनामापछि मंगलबार कृषि तथा पशुपालन विकास मन्त्री रामनाथ अधिकारीले पनि आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले आन्दोलनप्रति सरकारको कठोर नीति सही नभएको भन्दै पद छोडेका हुन्।

सञ्चार मन्त्री प्रिथ्वी सुब्बा गुरुङ ले भने प्रतिबन्धको निर्णय पुनर्विचार गर्दै सामाजिक सञ्जाल खोल्ने घोषणा गरेका छन्। साथै सरकारले घटनाको छानबिनका लागि विशेष आयोग गठन गरी १५ दिनभित्र प्रतिवेदन ल्याउने बताएको छ।

यसबीच विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओली को पनि राजीनामा माग गर्दै संसद विघटन गरी छिटो नयाँ चुनावमा जानुपर्ने धारणा राखेका छन् । उनीहरूको दाबी अनुसार हालको सरकार जनआवाज सुन्न असफल भएको छ र आन्दोलनमा मारिएका नागरिकहरूको रगतको जिम्मा प्रधानमन्त्रीले लिनै पर्छ।

लगातारका राजीनामाले सरकारभित्र संकट गहिरिँदै गएको छ भने सडकमा उत्रिएका युवाहरू अझै आन्दोलनरत रहेका छन्। परिस्थिति शान्त बनाउन सरकार र प्रतिपक्षबीच संवाद हुने वा राजनीतिक संकट अझै चर्किने भन्नेबारे अनिश्चितता यथावत छ।

सम्बन्धित समाचार

ताजा समाचार