भानु जयन्ती तथा गुरुपूर्णिमाः काठमाडौंमा कविता प्रतियोगिता, स्वातिसदन माविकी समृद्धि धिताल तृतीय

काठमाडौं । भानु जयन्ती तथा गुरुपुर्णिमाको अवसरमा काठमाडौंमा कविता प्रतियोगिता भएको छ ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन काठमाडौं महानगर समितिद्वारा आयोजित काठमाडौं महानगरपालिकाव्यापी माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगिता दरबार हाईस्कुल, रानीपोखरीमा सम्पन्न भएको छ।

प्रतियोगितामा २५ सामुदायिक तथा संस्थागत विद्यालयका ४२ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। विद्यार्थीहरूका सिर्जनात्मक प्रतिभा प्रस्तुत गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय अध्यक्ष हंसबहादुर शाहीले शिक्षक सङ्गठनले केवल आफ्ना हक अधिकारका लागि मात्र नभई विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने दिशामा पनि महत्वपूर्ण भूमिका खेलिरहेको धारणा व्यक्त गरे।

विशिष्ट अतिथि प्रा.डा. देवी नेपाल र अतिथि कवि बलराम दाहालले कविता लेखनमा उत्प्रेरणा प्रदान गर्दै आफ्ना कविता वाचन गरेका थिए।

कार्यक्रममा निर्णायक मण्डलमा प्राध्यापक हेरम्बराज बास्तोला, कवि मञ्जु बस्नेत र कवि विपिन पाठक रहेका थिए। उनीहरूको मूल्याङ्कनका आधारमा प्रतियोगितामा तरुण माविकी सदिक्षा पौडेल प्रथम, संस्कृत माविका स्पन्दन सापकोटा द्वितीय, र स्वातिसदन माविकी समृद्धि धिताल तृतीय भएका छन्। पञ्चकन्या माविकी चाँदनी बोहरा लाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रमको अध्यक्षता शिक्षक सङ्गठन महानगर अध्यक्ष गणेश गुरागाईले गरेका थिए भने सञ्चालन सचिव बाबुराम शर्माले गरेका थिए।

कार्यक्रमले नयाँ पुस्तामा साहित्यिक चेतना र सिर्जनात्मक अभिव्यक्तिको विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

सम्बन्धित समाचार

ताजा समाचार