सोलुखुम्बु । ७२ औँ सगरमाथा दिवस भव्यताका साथ मनाउने तयारी गरिएको छ । जेठ १३, १४ र १५ गते खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा ५ नाम्चेमा सगरमाथा दिवस मनाउने तयारी गरिएको हो ।
खुम्बु पासाङल्हामु गाउँपालिकाको आर्थिक सहयोगमा नाम्चे युवा समूहले विविध कार्यक्रमका साथ ७२ औँ सगरमाथा दिवस मनाउन लागेको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले जानकारी दिए ।
दिवसको अवसरमा ३ दिनसम्म नाम्चे बजारमा सञ्चालन हुने कार्यक्रममा खुला भलिबल प्रतियोगिता, मिनी म्याराथन, शेर्पा नृत्य प्रतियोगिता लगायतका कार्यक्रमको आयोजना गरिएको नाम्चे युवा समूहका अध्यक्ष मिङमा ग्याल्जेन शेर्पाले जानकारी दिए।
साङ्गीतिक कार्यक्रमका लागि गायक राजु लामा र उहाँको ब्यान्ड मंगोलियन हर्ट खुम्बु आउने आयोजकले जनाएको छ । सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक मानव पाइला टेकिएको दिनको अवसरमा हरेक वर्ष मे २९ मा सगरमाथा दिवस मनाइन्छ ।

