धरान उपमहानगरपालिका जिरो पोइन्ट देखि भेडेटार जाने बाटोमा प्रहरी र तस्करबीच गोली हानाहान भएको छ । मंगलबार साँझ ७ बजे सरकारी नम्बर प्लेटको स्कर्पियोमा मोटरसाइकलले स्कर्टिङ गर्दै धनकुटातर्फबाट गाँजा तस्करी गर्दै गर्दा तस्करसँग प्रहरीको मुठभेड भएको हो ।
प्रहरीले सो क्रममा करिब ११ राउन्ड फायर गरेको थियो । घटनास्थल नजिक रहेका प्रत्यक्षदर्शीका अनुसार दुवै तर्फबाट गोली चलेको आवाज आएको थियो ।
कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी भीम दाहालका अनुसार करिब ६ सय केजी गाँजा बरामद भएको छ । ‘अनुसन्धानको काम हुँदै छ । परिणाम पनि यकिन गर्ने क्रम जारी छ । करिब ६ सय केजी जति हुनुपर्छ,’ दाहालले शिलापत्रसँग भने ।
घटनाको वृस्तृत जानकारी दिन इलाका प्रहरी कार्यलय धरानले भने केही समयपछि पत्रकार सम्मेलन गर्ने जनाएको छ ।

