काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा विरुद्ध रेड नोटिस जारी गर्न गरिएको प्रस्तावलाई इन्टरपोलले अस्वीकार गरेको छ। इन्टरपोलले रेड नोटिस जारी गर्न आवश्यक पर्ने स्पष्ट आपराधिक कसुर नदेखिएको जनाएको छ।
साथै, एउटै विषयमा एकैपटक सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढाइएको आधारलाई पनि उसले पर्याप्त नभएको भन्दै प्रश्न उठाएको छ। प्राप्त जानकारी अनुसार रेड नोटिस जारी गर्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसार ठोस प्रमाण र स्पष्ट अपराधको आधार आवश्यक पर्छ। तर यस प्रकरणमा ती सर्तहरू पूरा नभएको निष्कर्ष इन्टरपोलले निकालेको हो।
यस निर्णयसँगै देउवा दम्पती विरुद्ध अन्तर्राष्ट्रिय स्तरमा खोजी प्रक्रिया अघि नबढ्ने भएको छ। सम्बन्धित निकायहरूले भने आन्तरिक रूपमा अनुसन्धान प्रक्रिया जारी राख्न सक्ने जनाइएको छ।

