‘जुनाः एक व्यथा’को दोस्रो पोस्टर

बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको बहुप्रतिक्षारत फिल्म ‘जुनाः एक व्यथा’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ । आगामी माघ २५ गते रिलिज हुने फिल्म गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको हो । फिल्ममा जीवन सेञ्चुरीको निर्देशन छ ।

पोस्टरमा फिल्मका प्रमुख कलाकार अस्मिता ढकाल र कृष्णप्रसाद धिताललाई प्रस्तुत गरिएको छ । विवाहित अस्मिता काखमा सन्तान बोकेर निराश भावमा कतै टोलाएकी छन् । त्यस्तै कलाकार कृष्ण भने कोहीप्रति रिस व्यक्त गरिरहेका छन् । दाह्री जुँगा र दौरा, टोपीको गेटअपमा देखिएका उनले कर्के नजर र अनुहारको भावले रिसाएको देख्न सकिन्छ । पोस्टर राकेश दाहालले डिजाइन गरेका हुन् ।

फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेको अभिनय छ ।

निर्देशक सेञ्चुरीले फिल्मले ‘बाल विवाह सामाजिक अपराध हो । त्यसकारण यसलाई अन्त्य गरौं’ भन्ने नारा लिएको बताए । ‘‘जुनाः एक व्यथा’ एक ऐतिहासिक र विशिष्ट प्रकृतिको फिल्म हो । नेपाली समाजमा व्याप्त महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी, छाउपडी जस्ता कुप्रथालाई अन्त्य गर्ने राष्ट्रिय आवश्यकतालाई यस फिल्मको माध्यमबाट सम्बोधन गर्ने प्रयास गरिएको छ’, निर्देशक सेञ्चुरीले भने । उनले फिल्मले बाल विवाह तथा महिलाको मुद्धा बोकेको हुँदा नेपाल सरकारले सन् २०३० सम्ममा बाल विवाह अन्त्य गर्न लिएको लक्ष्यलाई सघाउने बताए ।

पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको फिल्ममा दीपकप्रसाद घिमिरेको लगानी छ । फिल्ममा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको डिओपी छ । फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन् ।

यो फिल्म पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसद, विज्ञ, लेखक, समालोचकलगायतले हेरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार