इरानमा खामेनीको अन्त्येष्टिका लागि विशाल जुलुस

तेहरान । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्तिम संस्कारका लागि सोमबार राजधानी तेहरानमा विशाल शोक जुलुस सुरु भएको छ । खामेनीको पार्थिव शरीरलाई राष्ट्रिय झण्डाले ढाकिएको कफिनमा राखी परिवारका सदस्यहरूसहित ट्रकमार्फत तेहरानका मुख्य सडक हुँदै मेहराबाद अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लगिएको छ । फेब्रुअरी २८ मा इजरायल र संयुक्त राज्य अमेरिकाले सुरु गरेको युद्धको प्रारम्भिक चरणमा भएको हवाई आक्रमणमा उहाँको मृत्यु भएको थियो ।

इरानी राज्य सञ्चारमाध्यमका अनुसार जुलुस सुरु भइसकेको छ भने सरकारप्रति जनसमर्थन प्रदर्शन गर्ने उद्देश्यले ठुलो सङ्ख्यामा नागरिकलाई सहभागी गराइएको छ । शोक अवधिलाई मध्यनजर गर्दै सडक, हवाई क्षेत्र तथा सार्वजनिक गतिविधिमा विशेष प्रतिबन्ध लगाइएको छ । शनिबारदेखि सुरु भएको राष्ट्रिय शोक बिहीबारसम्म रहनेछ । त्यसपछि ८६ वर्षीय खामेनीलाई उहाँको जन्मस्थान मशहदस्थित इमाम रेजा मन्दिर परिसरमा अन्त्येष्टि गरिनेछ ।

यसबिच, संयुक्त राज्य अमेरिकाले हर्मुज जलघाँटी पूर्ण रूपमा पुनः सञ्चालन, इरानको विवादित आणविक कार्यक्रम नियन्त्रण तथा युद्धको स्थायी अन्त्यका लागि वार्ता अघि बढाउन दबाब दिइरहे पनि अन्त्येष्टि सम्पन्न नभएसम्म वार्ता स्थगित रहने सङ्केत देखिएको छ ।

अन्त्येष्टिको वातावरणबीच खामेनीको मृत्युको बदला लिनुपर्ने आवाज पनि चर्किएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार