काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संघीयता, समावेशिता र धर्मनिरपेक्षता जस्ता संविधानका आधारभूत संरचनामा कुनैपनि किसिमको हस्तक्षेप नगर्न सरकारलाई सचेत गराएका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद राईले संविधान संशोधनको बहस चलिरहँदा यी आधारभूत स्तम्भहरूमा फेरबदल गरिए मुलुकमा गम्भीर दुर्घटना निम्तिन सक्ने बताएका हुन् । अब मुलुकमा रगतको होइन, पसिनाको क्रान्ति आवश्यक रहेको उल्लेख गरे । राईले देशमा रोजगारीको अभावमा हजारौँ युवा विदेशिनु परेको यथार्थलाई औंल्याउँदै स्वदेशमै भविष्य खोज्ने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरे ।
अध्यक्ष राईले दार्चुलाको टिङ्कर सडकको नाजुक अवस्थाबारे सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले राष्ट्रिय गौरवका योजनाहरू सीमा क्षेत्रमा केन्द्रित गर्न र टिङ्कर सडक निर्माणलाई तिब्रता दिन माग गरे ।अध्यक्ष राईले ठगहरूको सम्पती जफत गरेर मात्र वचतकर्ताको पैसा फिर्ता गर्नुपर्ने धारणा राख्नुभयो । राज्यकोषको रकमबाट सहकारीको दायित्व व्यहोर्नु गलत हुने बताउँदै उनले दोषीमाथि गरिएको कारबाही र असुलउपर गरिएको रकमको विवरण सार्वजनिक गर्न माग गरे । यस्तै, सुकुम्बासी र अव्यवस्थित बसोबासीको पुनर्वासको व्यवस्था नगरी उनीहरूलाई हटाउन नहुने र लालपुर्जा वितरणमा राजनीतिक पूर्वाग्रह राख्न नहुने उनको भनाइ छ ।

