काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दुतहरू स्टिभ विट्कोफ र जेरेड कुश्नर हाल कतारको राजधानी दोहामा रहेका छन् । यद्यपि, उनीहरूले इरानी अधिकारीहरूसँग कुनै पनि प्रत्यक्ष भेटवार्ता नगर्ने कतारले मंगलवार पुष्टि गरेको छ ।
कतारी विदेश मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले साप्ताहिक पत्रकार सम्मेलनका क्रममा अमेरिकी प्रतिनिधिमण्डलले मध्यस्थकर्ताहरूसँग मात्र छलफल गर्ने जानकारी दिए । उनकाअनुसार उक्त छलफल अमेरिका र इरानबीच हालै हस्ताक्षर भएको समझदारी पत्र कार्यान्वयनको प्रगतिका विषयमा केन्द्रित रहनेछ ।
सोही क्रममा प्रवक्ता अल–अन्सारीले इरानको रोक्का गरिएको ६ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति अझै पनि तेहरानलाई हस्तान्तरण गरिनसकेको स्पष्ट पारे । दोहामा भइरहेको पछिल्लो कुटनीतिक गतिविधिलाई लिएर वासिङ्टन र तेहरानबीच विरोधाभासपूर्ण धारणाहरू सार्वजनिक भइरहेका बेला कतारको यो स्पष्टोक्ति आएको हो ।
अमेरिकाले यी छलफलहरूलाई समझदारी पत्र कार्यान्वयन प्रक्रियाको एक हिस्सा भएको बताएको छ भने इरानले अमेरिकी अधिकारीहरूसँग कुनै पनि प्रत्यक्ष वार्ताको कार्यतालिका नरहेको दाबी गर्दै आएको छ ।

