संसदमा उठेका समसामयिक विषयबारे सम्बोधन गर्न सरकारसँग माग

काठमाडौं । राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष दलका नेता कमला पन्तले संसदमा उठेका समसामयिक विषयबारे सम्बोधन गर्न सरकारसँग माग गरेकी छन् ।

बुधवार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै उनले संसदका सांसदहरुले उठाएका समसामयिक विषयहरुको अहिलेसम्म सम्बोधन नभएको भन्दै सरकारप्रति असन्तुष्टि समेत व्यक्त गरिन् । नेता पन्तले सरकारलाई उक्त विषयमा सम्बोधन गर्नका लागि रुलिङ नगरेको भन्दै अध्यक्ष नारायणप्रसाद दाहालको पनि आलोचना गरिन् ।

उनले भनिन्,‘यो संसदमा माननीयज्यूहरुले धेरै समसामयिक विषयहरुमा आवाज उठाउनु हुन्छ । सम्माननीयज्यूको इच्छा नभएर होइन होला जस्तो लाग्छ मलाई । सम्माननीयज्यूले रुलिङ गरेको पनि सुनिन मैले । समसामयिक विषयहरु के हुन, के उठिराखेको छ ? र जिरो आवरमा, शुन्य समयमा माननीय ज्यूहरुले के विषयमा ध्यानाकर्षण गराई राख्नुभएको छ । भन्ने सम्बन्धमा अहिलेसम्म त्यसको बारेमा जानकारी दिनका लागि यति लामो समय भईसक्यो संसद शुरु भएको । अहिलेसम्म कुनै पनि विषयमा सरकारले सम्बोधन गरेको, सरकारले रेसपोन्स गरेको मैले थाहा पाईन । त्यसैले समसायिमक विषयमा उठेका विषयवस्तुहरुको सम्बन्धमा सरकारको रेसपोन्सको अनुरोध गर्दै आफनो भनाई टुंग्याउछु ।’

नेता पन्तले सरकारले संसदमा सांसदहरुले उठाएको विषयमा गम्भिरतापूर्वक सम्बोधन गर्नुको विकल्प नभएको पनि बताएकी छन् ।

सम्बन्धित समाचार

ताजा समाचार