एडीबी अध्यक्ष मासातो कान्डा नेपाल भ्रमणमा, उच्चस्तरीय भेट हुँदै

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डा दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आइपुगेका छन्। आइतबार राति करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनलाई अर्थसचिव घनश्याम उपाध्यायले स्वागत गरेका थिए।

सोमबार र मंगलबार नेपालमा रहने अध्यक्ष कान्डाले प्रधानमन्त्री बालेन्द्र शाहसँग मंगलबार शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ। प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहले कुनै विदेशी उच्चपदस्थ पाहुनासँग गर्ने यो पहिलो औपचारिक भेट हुनेछ।

विश्वकै प्रमुख बहुपक्षीय विकास वित्तीय संस्थामध्ये एक एडीबीका अध्यक्षलाई सरकार प्रमुखसरहको कूटनीतिक मर्यादा प्रदान गर्ने प्रचलन छ। यसअघि गत महिना बंगलादेश भ्रमणका क्रममा पनि त्यहाँका अर्थमन्त्रीले कान्डाको विमानस्थलमै स्वागत गरेका थिए।

भ्रमणका क्रममा अध्यक्ष कान्डाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसहित नेपाल सरकारका अन्य उच्च अधिकारीसँग पनि छलफल गर्नेछन्। अर्थमन्त्री वाग्ले र कान्डाबीच सोमबार दिउँसो ३ बजे भेटवार्ताको कार्यक्रम तय भएको छ।

नेपाल बसाइका क्रममा उनले एडीबीको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन भएका विभिन्न विकास आयोजनाको स्थलगत अवलोकन गर्ने कार्यक्रम पनि रहेको छ।

सम्बन्धित समाचार

ताजा समाचार