काठमाडौं । बुधबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यका आसपासका नदीहरूमा बाढी आएको छ । वागमती, धोविखोला, बल्खु खोला, विष्णुमतीलगायतका नदीमा पानीको सतह बढ्दै गएपछि बाढी आएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले वर्षा अझै निरन्तर हुने भएकाले बुधवार साँझसम्म नदीको जल सतह पार गर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । विभागका अनुसार पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनले जलचक्रिय प्रणालीमा ठूलो असर पुर्याएको र असोज महिनामा असामान्य वर्षा हुने क्रम बढेको देखिएको छ ।
गत वर्ष असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीले उपत्यकासहितका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो । यस वर्ष पनि यस्तै जोखिम देखिएको भन्दै सतर्कता अपनाउन सरोकारवालाहरूले आग्रह गरेका छन् ।

