काठमाडौं । नेपाली काँग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले वर्तमान सरकारको सय दिनको कार्यकाल सन्तोषजनक नरहेको टिप्पणी गरेका छन्।
सोमवार संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता केसीले सरकार गठनका समयमा जनतामा देखिएको आशा र विश्वास पछिल्लो सय दिनमा क्षयीकरण हुँदै गएको बताएका हुन्। सरकारले अघि सारेका सय बुँदे कार्यक्रममध्ये झन्डै ३७–३८ बुँदाभन्दा बढी कार्यान्वयनमा आउन नसकेको दाबी गरेका छन् । उनले बाँकी विषयहरू शुन्य अवस्थामा रहेको उल्लेख गरे । लोकतन्त्रमा परिणाम मात्र नभई प्रक्रिया पनि विधिसम्मत हुनुपर्नेमा जोड दिँदै नेता केसीले वर्तमान सरकारले लोकतान्त्रिक पद्धति र प्रक्रियालाई निरन्तर बेवास्ता गरेको आरोप लगाएका छन् ।
नेता केसीले प्रधानमन्त्रीको संसदप्रतिको जवाफदेहितामाथि प्रश्न पनि उठाए । प्रधानमन्त्रीले संसद्मा व्यक्त गरेको धारणा आधिकारिक हुने स्मरण गराउँदै उनले जेठ १७ गतेदेखि उठिरहेका प्रश्नहरूको पाँच हप्तासम्म पनि जवाफ नआउनु दुःखद् भएको बताए । प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर आफ्ना धारणा स्पष्ट पार्नुपर्ने वा त्रुटी सच्याउनुपर्नेमा त्यसो नगरेर संसद्को अपमान गरेको उनको भनाइ छ ।

