मस्तिष्कघातका बिरामीलाई अल्टेप्लेज इन्जेक्सन निःशुल्क

नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा मस्तिष्कघातका बिरामीलाई अल्टेप्लेज इन्जेक्सन निःशुल्क दिइने भएको छ । यो इन्जेक्सनले बिरामीलाई पक्षघात अर्थात प्यारालाइसिस हुनबाट जोगाउने अस्पतालका प्रमुख कन्सल्टन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डेले बताएका छन् ।

उनले पक्षघातका लक्षण देखिएर अस्पतालमा भर्ना हुने बिरामीलाई निश्चित समयभित्र अल्टेप्लेज इन्जेक्सन दिन सकिए बिरामी पुरानै अवस्थामा फर्किने सम्भावना अत्यधिक हुने हुँदा यो अति नै महत्त्वपूर्ण भएको बताएका हुन् ।

मस्तिष्कघातको लक्षण देखिएको साढे चार घण्टाभित्रै बिरामीलाई अस्पताल पुर्‍याउन सके सो इन्जेक्सनको सहयोगले बिरामी पूर्ण निको हुने सम्भावना धेरै रहेको डा. पाण्डेले बताए ।

एक भायल ८० हजार रुपियाँ पर्ने सो इन्जेक्सन खरिद गर्ने हैसियत हरेक नागरिकको नभएकाले भेरी अस्पतालमा निःशुल्क दिने भएपछि यसबाट धेरै गरिब र विपन्नको ज्यान जोगाउन सहयोग पुग्ने भएको छ ।

पहिलो चरणमा भेरी अस्पतालमा २० भायल अल्टेप्लेज इन्जेक्सन आएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा।निराजन सुवेदीले बताएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार