त्रिभुवन विमानस्थलमा १२ लाखभन्दा बढी मूल्यको साउदी रियालसहित एक जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले १२ लाख रुपैयाँभन्दा बढी मूल्यको साउदी रियाल सहित एक जनालाई पक्राउ गरेको छ। कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार जेठ ३० गते साँझ करिब ६ः ५५ बजे हिमालय एयरलाइन्सको उडान नम्बर H9 0765 मार्फत काठमाडौंबाट दुबई जान लागेका वर्ष १९ का समिर बहादुर मगरलाई पक्राउ गरिएको हो।

विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान होल्ड ब्यागेज चेकिङ क्षेत्रको नियमित जाँचका क्रममा शंका लागेपछि उनको  खानतलासी गरिएको थियो। त्यस क्रममा उनले लुकाएर बोकेको ३० हजार साउदी रियाल बरामद भएको सुरक्षा कार्यालयले जनाएको छ।

बरामद गरिएको विदेशी मुद्राको विनिमय दर प्रतिरियाल ४०.४७ का आधारमा यसको नेपाली मूल्य १२ लाख १४ हजार १ सय बराबर छ। आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि पक्राउ परेका मगरलाई बरामद विदेशी मुद्रासहित राजस्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुर पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

विदेशी मुद्रा सम्बन्धी प्रचलित कानुनअनुसार घोषणा नगरी तोकिएको सीमाभन्दा बढी विदेशी मुद्रा ओसारपसार गर्न नपाइने व्यवस्था रहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

सम्बन्धित समाचार

ताजा समाचार