कैलाली । सुदूरपश्चिम सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको छलफल अनिश्चित बनेको छ । सत्ता साझेदार एमाले संसदीय दलले नै बजेटमा संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेपछि प्रदेशसभामा बजेटमाथि छलफल प्रभावित भएको हो । त्यसैमा सत्तासमिकरण फेरबदलको चर्चासमेत चलिरहेको छ ।
सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारमा एमाले साझेदार छ । मुख्यमन्त्री कमलबहादुर शाहले बजेटमाथिको छलफलका लागि अझै समय रहेको बताएका छन् । तर सत्ता साझेदार एमाले स्वयंले बजेटमा संशोधन गर्नुपर्ने माग गरेपछि मुख्यमन्त्री शाहसमेत अलमलमा छन् ।
आगामी आर्थिक वर्षको बजेट असारभित्र पारित भइसक्नु पर्ने हुन्छ । ‘प्रदेशसभाको बैठक र बजेट माथिको छलफलको कुनै चर्चा चलेको छैन,’ एमाले संसदीय दलका उपनेता सन्तोषकुमारी शर्मा थापाले भनिन् ‘बजेटप्रति पनि सर्वत्र असन्तुष्टि छ । हाम्रो दलका नेताहरु पनि यतिबेला काठमाडौंतिर हुनु हुन्छ ।’
आर्थिक वर्षको अन्तिम महिना सुरु भएसँगै प्रदेशसभाका विषयगत समितिका सांसदहरु विभिन्न भ्रमणमा छन् ।

