काठमाडौं । बझाङको दुर्गाथली गाउँपालिकास्थित बाँठपाली देवताको मन्दिर निर्माणमा आर्थिक अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार मन्दिर निर्माणका लागि आर्थिक वर्ष २०७५/७६ मा ४५ लाख रुपैयाँ बजेट छुट्याइएको थियो। योजनाअनुसार उपभोक्ता समितिले करिब ११ लाख ७ हजार रुपैयाँ बराबरको काम गर्ने र २ लाख २५ हजार रुपैयाँ कन्टिन्जेन्सी खर्च हुने व्यवस्था थियो। तर वास्तविक निर्माण कार्यको मूल्यभन्दा २२ लाख १ हजार रुपैयाँ बढी भुक्तानी गरिएको भन्दै अख्तियारले भ्रष्टाचार भएको निष्कर्ष निकालेको हो।
यस प्रकरणमा छविसपाथिभेरा गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष राधिकाकुमारी रताला, वडा नम्बर ६ का तत्कालीन अध्यक्ष मोहनलाल विक तथा मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्ण बुढा, सचिव जयबहादुर बुढा र कोषाध्यक्ष मधुलीदेवी बुढाविरुद्ध मुद्दा दायर गरिएको छ।
यस्तै, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख मकरबहादुर मण्डेल, लेखापाल प्रेमप्रसाद पौडेल, छविसपाथिभेरा गाउँपालिकाका इन्जिनियर हिक्मत रावल र सबइन्जिनियर बमबहादुर बोहरालाई पनि अनियमिततामा संलग्न रहेको आरोपसहित प्रतिवादी बनाइएको छ।
अख्तियारले निर्माण कार्यको वास्तविक लागतभन्दा बढी रकम भुक्तानी गरी सरकारी स्रोतको दुरुपयोग भएको दाबी गर्दै सम्बन्धित सबै प्रतिवादीमाथि कानुनी कारबाहीको माग गरेको छ।

