काठमाडौं । सरकारले कानून विपरित र जथाभावी रूपमा सवारी साधन राखेर ‘सवारी आतंक’ सिर्जना गर्ने जो–कोहीलाई कानूनी कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरेको छ ।
मन्त्रीपरिषद्का निर्णयहरू सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उक्त प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले सञ्चारमाध्यम र नेताका घर अगाडि गाडी पार्किङ गर्ने काम नियोजित कार्य नभएको स्पष्ट पारेका छन् । नेताका घर अगाडि, सञ्चारमाध्यम भवन अघि नियमविपरित सवारी साधनहरू राखिएको र जरिवानासमेत नतिरी छाडिएको विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले यसमा सरकारको कुनै योजना वा संलग्नता नरहेको प्रष्ट पारे । सोमवार कान्तिपुर, अनलाइन खबर, हिमालय टिभी, नेपाली काँग्रेसका सभापति गगनकुमार थापाको निवास अगाडि लगेर गाडी पार्किङ गरिएको थियो । प्रहरीले पछि उक्त स्थानबाट क्रेन लगाएर गाडी हटाएको हो ।
उनले भने, ‘यदि यो सरकारकै नियोजित कार्य हुन्थ्यो भने गृह मन्त्रालय मातहतको नेपाल प्रहरीले यसरी खोजी र अनुसन्धान गर्ने थिएन । जुनसुकै पार्टीको भए पनि उहाँहरूले गर्नुभएको गल्तीका आधारमा प्रचलित कानूनअनुसार के सजाय हुनुपर्ने हो, त्यो भएरै छाड्छ ।’
मन्त्री पोखरेलले सार्वजनिक व्यवस्थामा खलल पु¥याउने गरी सवारी साधन राख्ने कार्यमा संलग्नहरूको प्रहरीले सुक्ष्म खोजी गरिरहेको जानकारी दिए । उनले यस कार्यमा संलग्न व्यक्ति जुनसुकै राजनीतिक दलसँग आबद्ध भएपनि कानूनबमोजिम सजाय हुने स्पष्ट पारे । सरकारले विधिको शासन कायम गर्न र अराजकता रोक्न कुनै सम्झौता नगर्ने समेत उनको भनाइ छ ।

