काठमाडौं । अस्थायी तथा करारमा कार्यरत कर्मचारीहरूले आफ्नो सेवा निरन्तरता सुनिश्चित गर्न माग गर्दै मंगलबार अर्थ मन्त्रालय अगाडि विरोध प्रदर्शन गरेका छन्।
सरकारले अस्थायी र करार कर्मचारीको सट्टा आउटसोर्सिङ प्रणालीमार्फत जनशक्ति व्यवस्थापन गर्ने तयारी गरेको भन्दै कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन्। लामो समयदेखि विभिन्न मन्त्रालय तथा सरकारी निकायमा कार्यरत कर्मचारीहरूले आफूहरूको रोजगारी असुरक्षित बनेको बताएका छन्।
देशभरका विभिन्न मन्त्रालयमा कार्यरत अस्थायी तथा करार कर्मचारीहरूले सेवा निरन्तरता, रोजगारीको सुरक्षा र आफ्नो योगदानको उचित मूल्याङ्कन हुनुपर्ने माग राख्दै आन्दोलन जारी राखेका छन्।
यसै क्रममा उनीहरूले मंगलबार अर्थ मन्त्रालयको मूल प्रवेशद्वारमा भेला भएर नाराबाजीसहित धर्ना दिएका थिए। सरकारले सार्वजनिक खर्च नियन्त्रण गर्ने नीतिअन्तर्गत अस्थायी तथा करार कर्मचारीको संख्या घटाउने तयारी गरिरहेको पृष्ठभूमिमा कर्मचारीहरूले उक्त निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्।

