भेनेजुएलामा महाभूकम्पः २३५ जनाको मृत्यु, करिब चार हजार ३०० जना घाइते

भेनेजुएला । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा कम समयको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति पुर्‍याएको छ । कम्तीमा २३५ जनाको मृत्यु भएको छ भने करिब चार हजार ३०० जना घाइते भएका छन् । भग्नावशेषमुनि अझै पनि धेरै मानिस फसेको आशङ्का गरिएकाले उद्धार कार्य तीव्र पारिएको छ ।

संयुक्त राज्य अमेरिकाको भूगर्भीय सर्वेक्षणका अनुसार ७.२ र ७.५ म्याग्निच्युडका दुई भूकम्पले उत्तरी भेनेजुएलाका भवनहरू भत्किएका, चर्किएका र ढलेका छन् । बिहीबारसम्म पनि शक्तिशाली परकम्पहरू महसुस भइरहेका छन् ।

स्वास्थ्यमन्त्री कार्लोस अल्भाराडोले मृतकको सङ्ख्या २३५ पुगेको जानकारी दिनुभएको छ । घाइतेहरूको सङ्ख्या निरन्तर बढिरहेको र केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

सबैभन्दा बढी प्रभावित ला गुआइरा राज्यका विभिन्न क्षेत्रमा उद्धारकर्मी र स्थानीय बासिन्दाहरू भग्नावशेष हटाएर जीवित मानिसको खोजीमा जुटेका छन् । धेरै स्थानमा पर्याप्त उपकरण र दक्ष जनशक्तिको अभाव देखिएको छ ।

काराकासको उत्तरस्थित एक बस्तीमा एक युवती घण्टौँसम्म उद्धारको प्रतीक्षा गर्दै सहयोगका लागि चिच्याइरहेकी थिइन् । स्थानीय बासिन्दा डानी रिजोले उद्धार टोली र सुरक्षाकर्मीको तत्काल आवश्यकता रहेको बताउनुभएको थियो । केही समयपछि ती युवतीको मृत्यु भएको स्थानीयवासीहरूले जानकारी दिएका छन् ।

ला गुआइराका अन्य क्षेत्रमा पनि भग्नावशेषभित्रबाट मानिसहरूको आवाज सुनिएको छ । स्थानीय बासिन्दा एन्टोनियो बर्मुडेजले आवश्यक उपकरण र उद्धार सामग्री नहुँदा असहाय बनेको बताएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार