प्रधानमन्त्रीमाथि नेपालमा राजा चाहिन्छ भन्नेको चाहना पूरा गर्ने जिम्मेवारी पनि छः राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री बालेन्द्र साहमाथि नेपालमा राजा चाहिन्छ भन्ने चाहनालाई सम्बोधन गर्नुपर्ने जिम्मेवारी रहेको जिकिर गरेका छन् ।

चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा आयोजित सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले उक्त कुरा बताएका हुन् । अध्यक्ष लिङदेनले बालेन्द्र साहले नेपालमा राजा ल्याउँछ भनेर जनताले राप्रपालाई भोट नदिई रास्वपालाई मत दिएको दाबी गरे । नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपालाई भोट नदिएर बालेनले राजा ल्याउँछ भनेर जनताले भोट दिएकाले उनीहरुको चाहनालाई सम्बोधन गर्नुपर्ने जिम्मेवारी पनि सरकारलाई भएको उनको भनाई थियो ।

अध्यक्ष लिङदेनले भने,‘यो अवसर गुमाउनु भयो भने धोका तपाईको पार्टी र नेतृत्वलाई मात्रै हुने छैन । सिंगो देशलाई हुनेछ । त्यसकारण मेरोआग्रह छ यो मौका पारेर यो जिम्मेवारी सफलतापूर्वक पूरा गर्न सक्नुहोस । यो पटकको मतपरिणाम हेर्दा कुन राजनीतिक दर्शनले काम ग¥यो ? कुन राजनीतिक दलहरुको संगठनले काम ग¥यो ? यो एउटा यस्तो चुनाव भयो, जहाँ जहाँ राजनीतिक दलको संगठनले काम गरेन, पैसाले काम गरेन , आज झण्डै दुई तिहाई मत ल्याउने राजनीतिक दलले अहिले पनि ७७ वटै जिल्लामा अधिवेशन सम्पन्न गरेको छैन । सबै वडामा, गाउँपालिकामा आफनो संगठन बनाईसकेको छैन । तर जनताले उसलाई झन्डै दु्इ तिहाई बहुमत दियो । आज जनता राजनीतिक दलहरुको भन्दा, राजनीतिक दल र संगठन भन्दा अरु एक कदम अगाडि सरेर निर्णय गर्न अग्रसर भएको छ । र यो जनताको विश्वासलाई निराशामा परिणत हुन नदिनुहोस भनेर म मेरो शुभकामना छ । अघि सिकेजी यो जनमतमा मेरो पार्टीको पनि भोट छ भनेर । प्रधानमन्त्रीजीलाई थाहा छ होला, सभापतिजीलाई थाहा छ होला नेपालमा राजा चाहिन्छ भन्नेहरुको पनि भोट छ तपाईहरुलाई । नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपा । तर राप्रपालाई भोट नदिएर बालेनले राजा ल्याउँछ भनेर तपाईलाई भोट दिएका मान्छे छन् । तपाईहरुले जनताको विशिष्ट चाहनालाई सम्बोधन गर्नुपर्नेछ । त्यसकारण तपाईहरुको विशिष्ट जिम्मेवारी छ ।’

अध्यक्ष लिङदेनले रास्वपाले देश बनाउन पाएको अवसर गुमाए सिंगो मुलुकले धोका पाउने पनि बताएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार