काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) स्थानीय तह विभागको आयोजनामा सञ्चालित ‘स्थानीय तह जनप्रतिनिधि राष्ट्रिय प्रशिक्षण भेला २०८३’ १० बुँदे कार्यदिशा पारित गर्दै सम्पन्न भएको छ ।
जेठ १३ र १४ गते आयोजित उक्त दुई दिने भेलाले आगामी २०८४ सालको निर्वाचनलाई लक्षित गर्दै पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूका लागि विशेष मार्गनिर्देशन तय गरेको हो । भेलाले पारित गरेको कार्यदिशामा स्थानीय सरकारलाई जनताको घरदैलोको सरकारका रूपमा स्थापित गर्दै जनसेवामा समर्पित हुने प्रतिवद्धता व्यक्त गरिएको छ । यस वर्षलाई ‘कार्यसम्पादन केन्द्रित वर्ष’ का रूपमा मनाउने निर्णय गर्दै अधुरा योजनाहरूलाई प्राथमिकताका साथ सम्पन्न गर्ने नीति लिइएको छ । यस्तै, सेवा प्रवाहलाई छिटो, सरल र प्रविधिमैत्री बनाउँदै सुशासन, वित्तीय अनुशासन र बेरुजु व्यवस्थापनमा कडाइ गरिने कार्यदिशामा उल्लेख छ ।
पार्टीका नेता अग्निप्रसाद सापकोटाकाअनुसार भेला मुख्यतः विचार, विधि, प्रविधि र संगठन गरी चारवटा एजेन्डामा केन्द्रित थियो । निर्वाचनको रणनीतिका सम्बन्धमा बोल्दै नेता सापकोटाले पार्टीले शुरुमा आन्तरिक सुदृढीकरण र संगठन समायोजनलाई पूर्णता दिने जानकारी दिए । अन्य नयाँ राजनीतिक शक्तिहरूसँग स्वस्थ प्रतिष्पर्धा गर्न पार्टी तयार रहेको र जनताका अपेक्षा पूरा गर्न अधिकतम प्रयत्न गरिने उनको भनाइ थियो ।
सापकोटाले पार्टीको वर्ग दृष्टिकोणमा केही कमजोरी भएको स्वीकार गर्दै अबका दिनमा दलित, महिला, आदिवासी जनजाति र सुकुम्बासीका मुद्दामा थप एकाकार भएर अघि बढ्ने प्रतिवद्धता जनाए । यसैबीच, गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने र कार्यक्रममा सहभागी नहुने भन्ने विषयमा टिप्पणी गर्दै नेता सापकोटाले यसलाई ‘अस्वाभाविक’ कदमको संज्ञा दिनुभयो । यस्तो कार्यले गणतन्त्र पक्षधर जनताको भावनामा चोट पुग्ने उनको तर्क थियो ।
उनले भने, ‘आगामी २०८४ को निर्वाचनमा गुणात्मक सफलता हासिल गर्ने उद्देश्यले जनप्रतिनिधिहरूलाई प्रशिक्षित गरिएको हो । अहिलेको प्रविधिको युगमा विचार र विधिसँगै प्रविधिलाई जोडेर लैजानु अनिवार्य छ । हामी पहिला आफ्नै पार्टीलाई एकताबद्ध बनाउँछौँ, त्यसपछि संयुक्त मोर्चा बनाएर वा कम्युनिस्ट पार्टीको पुनर्गठनमार्फत निर्वाचनमा जाने विषयमा छलफल भइरहेको छ ।’
काठमाडौंमा सम्पन्न उक्त भेलामा सातै प्रदेशका इन्चार्ज, संयोजक, पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख, नगरपालिकाका प्रमुख तथा गाउँपालिकाका अध्यक्षहरूसहित करिब १५० जनाको सहभागिता रहेको थियो । भेलाले प्रत्येक स्थानीय तहमा नमुना र उदाहरणीय कार्य गर्दै समाजवादउन्मुख नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने संकल्प समेत गरेको छ ।

