समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नामावली सार्वजनिक

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित विभिन्न सहकारी संस्थाहरूका ठुला ऋणीहरूको नामावली सार्वजनिक गर्न सुरु गरेको छ।

समितिले आज एक सूचना जारी गर्दै पहिलो चरणमा १० वटा समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको विवरण बाहिर ल्याएको हो। अन्य समस्याग्रस्त सहकारीका ऋणीहरूको नामावली पनि क्रमशः सार्वजनिक गर्दै जाने समितिको योजना रहेको छ।

समितिले सार्वजनिक गरेका नामावलीहरूमा घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, तपाई हाम्रो बहुउद्देश्यीय सहकारी र नागरिक कल्याण बहुउद्देश्यीय सहकारीका ऋणीहरू रहेका छन्।

त्यसैगरी आइडियल यमुना बहुउद्देश्यीय सहकारी, तुलसी बहुउद्देश्यीय सहकारी, नेपाल वित्तीय सहकारी, ओरियन्टल कोअपरेटिभ, गौतम श्री सहकारी र नेपाल सहकारी वित्तीयका ठुला ऋणीहरूको नाम पनि सार्वजनिक गरिएको छ।

समितिले सूचनामार्फत सम्बन्धित सबै ऋणीहरूलाई यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी आफ्नो ऋण चुक्ता गर्न कडा निर्देशन दिएको छ। तोकिएको समयभित्र ऋण राफसाफ नगरेमा कानुन बमोजिम कडा असुली प्रक्रिया अगाडि बढाइने समितिले चेतावनी दिएको छ।

साथै, अन्य ऋणीहरूको सूची पनि क्रमिक रूपमा प्रकाशित हुने भएकाले सबै ऋणीहरूलाई समयमै कार्यालयमा उपस्थित भई दायित्व पुरा गर्न आग्रह गरिएको छ। यस कदमले बचतकर्ताको रकम फिर्ता गराउने प्रक्रियामा सहयोग पुग्ने विश्वास लिइएको छ।

सम्बन्धित समाचार

ताजा समाचार