सुकुमवासीहरूको व्यवस्थापन आगामी चैतभित्र गर्न सुझाव

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवैध संरचना हटाउने क्रममा विस्थापित सुकुमवासीहरूको सुरक्षित स्थानान्तरण र मर्यादित वासस्थानको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले गाँस, बास र सुरक्षालाई प्राथमिकतामा राख्दै आगामी चैत मसान्तभित्र सुकुमवासी समस्या व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएको हो ।

पार्टी प्रवक्ता मनीष झाका अनुसार सुकुमवासी समस्या समाधानका लागि अधिकारसम्पन्न प्राधिकरण गठन गरी लगत संकलन गर्ने र आगामी चैतभित्र कम्तीमा ७५ प्रतिशत व्यवस्थापन गरिसक्नुपर्नेमा पार्टीले जोड दिएको छ । प्रवक्ता झाका अनुसार खोलाकिनारमा असुरक्षित रूपमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा सार्नकै लागि डोजर प्रयोग गरिएको हो । ‘बाढीले बगाउँदा मात्रै जोखिम देख्ने कि समयमै सुरक्षित स्थानमा सार्ने’ उनले भने ।

अव्यवस्थित बसोबासको समस्या समाधानका लागि सरकारले चाँडै अधिकारसम्पन्न प्राधिकरण गठन गरी वास्तविक भूमिहीनहरूको समस्या समाधान गर्न पहल गरेको भन्दै रास्वपाले अनावश्यक त्रास वा भ्रममा नपर्न सबैमा अनुरोध गरेको छ । असुरक्षित रूपमा बस्न बाध्य नागरिकको संरक्षण गर्नु रास्वपाको प्राथमिकता रहेको निर्णयमा छ । साथै पार्टीको वाचापत्रको बुँदा नं. ८२ मा समेत अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार