काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक आईजीपी नारायणदत्त पौडेलले सोमबार दर्ज्यानी चिन्ह लगाउने भएका छन् ।
१८ वैशाखबाट सशस्त्र प्रहरी महानिरीक्षकको चार बर्से पदावधि पूरा गरी राजु अर्याल अनिवार्य अवकाशमा गइसकेका छन् ।
अर्याल शुक्रबार मध्यराति नै अवकाशमा गएपछि सशस्त्र प्रहरी बलको नेतृत्व बहन गर्नका लागि गत सोमबारको मन्त्रिपरिषद् बैठकले पौडेललाई महानिरीक्षकमा बढुवा नियुक्त गर्ने निर्णय गरिसकेको छ ।
शनिबारदेखि नै आईजीपी पद रिक्त भएपनि शनिबार र आइतबार सार्वजनिक बिदा भएकाले पौडेलले सोमबार मात्रै महानिरीक्षकको दर्ज्यानी चिन्ह लगाउन लागेका हुन् ।
सोमबार बिहान पौने ९ बजे दर्ज्यानी चिन्ह प्रदान गरिने कार्यक्रम रहेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
निवर्तमान गृहमन्त्री सुधन गुरुङले अबदेखि महानिरीक्षकलाई प्रधानमन्त्रीले दर्ज्यानी चिन्ह प्रदान गर्ने बताएकाले यो पटक महानिरीक्षकलाई कसले दर्ज्यानी चिन्ह लगाइदिन्छन् भन्ने विशेष चासोको विषय बनेको थियो ।

