नाउपामा ठूलो धक्काः रुपन्देही अध्यक्षसहित ३३ नेता–कार्यकर्ता रास्वपामा जाने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीमा गम्भीर संगठनात्मक संकट देखिएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै जिल्ला अध्यक्षसहित ३३ जना नेता तथा कार्यकर्ताले एकैसाथ पार्टी परित्याग गरेका छन्।

सामूहिक राजीनामा दिनेमा जिल्ला अध्यक्ष तुल्सी थारु, वरिष्ठ जिल्ला उपाध्यक्ष राकेश कोइरी, केन्द्रीय सदस्य महेश गिरी, तारादेवी चौधरी, मञ्जु दगोरिया, केशव चौधरी, प्रदेश सदस्य माधव चौधरी, जिल्ला कोषाध्यक्ष रामबहादुर थारु, महिला जिल्ला अध्यक्ष राधा चौधरीलगायत प्रभावशाली नेताहरू रहेका छन्।

पार्टीभित्र निर्णय प्रक्रिया अपारदर्शी बन्दै गएको, कार्यकर्ताको भावना र जनअपेक्षालाई बेवास्ता गरिएको तथा संगठन सञ्चालन एकपक्षीय ढंगले अघि बढाइएको आरोप उनीहरूले लगाएका छन्। यही कारणले पार्टीका सबै जिम्मेवारीसहित साधारण सदस्यतासमेत त्याग्नुपरेको जिल्ला अध्यक्ष थारुले बताए।

नाउपाबाट अलग भएपछि आफूहरू भोलि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० मा औपचारिक रूपमा समाहित हुने तयारीमा रहेको जानकारी पनि थारुले दिएका छन्। यस क्रममा नाउपाका पूर्व पदाधिकारी तथा थरुहट–थारुवान संयुक्त संघर्ष समितिसमेत सहभागी हुने बताइएको छ।

रुपन्देहीमा देखिएको यो राजनीतिक हलचललाई नाउपाका लागि ठूलो झट्का र रास्वपाका लागि संगठन विस्तारको अवसरका रूपमा हेरिएको छ।

सम्बन्धित समाचार

ताजा समाचार