कुल निक्षेप तथा कर्जामा बागमती प्रदेशको अंश सबैभन्दा बढी

काठमाडौं । बैंङ्क तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप तथा कर्जामा बागमती प्रदेशको अंश सबैभन्दा बढी देखिएको छ ।

नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदनअनुसार २०८२ असार मसान्तसम्म बैङ्क तथा वित्तीय संस्थाले परिचालन गरेको कुल निक्षेपमा बागमती प्रदेशबाट परिचालन गरिएको निक्षेपको अंश सबैभन्दा धेरै ६५ दशमलव आठ प्रतिशत र कुल कर्जा प्रवाहमा ५९ दशमलव पाँच प्रतिशत रहेको छ ।

गत आर्थिक वर्ष २०८१/८२ सम्ममा बैङ्क तथा वित्तीय संस्थाले कुल ७२ खर्ब ९५ अर्ब ६९ लाख ३० हजार बराबर निक्षेप सङ्कलन गर्दा बागमती प्रदेशबाट मात्र ४७ खर्ब ९७ अर्ब ५९ करोड ८७ लाख बराबर निक्षेप उठेको छ ।

यस्तै, कोशीबाट रु पाँच खर्ब ५३ अर्ब तीन करोड ७९ लाख, मधेस प्रदेशबाट चार खर्ब सात अर्ब ७३ करोड ७२ लाख, गण्डकीबाट छ खर्ब १२ अर्ब २९ करोड ५७ लाख, कर्णालीबाट ९१ अर्ब नौ करोड र सुदूरपश्चिमबाट एक खर्ब ७३ अर्ब ८३ करोड बराबर निक्षेप सङ्कलन भएको छ ।

यस्तै, गत असार मसान्तसम्म कुल ५५ खर्ब ८६ अर्ब २९ करोड २२ लाख बराबरको कर्जा प्रवाह हुँदा बागमती प्रदेशबाट मात्र ३३ खर्ब २३ अर्ब ३१ करोड ६१ लाख बराबर ऋण लगानी भएको छ । कोशी प्रदेशबाट छ खर्ब १३ अर्ब ३८ करोड ९६ लाख, मधेस प्रदेशबाट चार खर्ब ९५ अर्ब ८६ करोड, गण्डकीबाट तीन खर्ब ५६ अर्ब ९२ करोड ५७ लाख, लुम्बिनीबाट  पाँच खर्ब ७७ अर्ब २७ करोड ६१ लाख, कर्णालीबाट रु ६२ अर्ब १२ करोड र सुदूरपश्चिमबाट एक खर्ब ५७ अर्ब ४० करोड ४१ लाख बराबर कर्जा प्रवाह भएको छ ।

राष्ट्र बैङ्कका अनुसार २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट कृषिमा प्रवाहित कर्जा शून्य दशमलव ०४ प्रतिशतले घटेर तीन खर्ब ३६ अर्ब ७३ करोड पुगेको छ । गत वर्षमा कुल कृषि कर्जामध्ये सबैभन्दा बढी ६१ अर्ब १९ करोड कर्जा पशुपालन पशु बधशाला शीर्षकमा र सबैभन्दा कम सुर्तीमा २० करोड ६५ लाख प्रवाह भएको छ । कृषि क्षेत्रमा प्रवाहित कर्जामा कोशी प्रदेशको अंश १६ दशमलव सात, मधेसको १८ दशमलव सात, बागमतीको ३६ दशमलव दुई, गण्डकीको सात दशमलव एक, लुम्बिनीको १५, कर्णालीको एक दशमलव पाँच र सुदूरपश्चिम प्रदेशको चार दशमलव सात प्रतिशत रहेको छ ।

यसैगरी गत असार मसान्तसम्ममा औद्योगिक क्षेत्रमा १६ खर्ब ९९ अर्ब ४९ करोड कर्जा प्रवाह भएको छ । कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३० दशमलव ४२ प्रतिशत रहेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार