काठमाडौं । नेपालमा डिजिटल प्रविधिको माध्यमबाट पर्यटन प्रर्वधन गर्ने उद्देश्यले ‘डिजिटल टुरिजम प्रमोशन एण्ड एआई ट्रेनिङ फर ट्रेकिङ एजेन्सी अपरेटर’ शिर्षकको चारदिने तालिम शुरु भएको छ ।
ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) को आयोजना तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को सस्टेनेबल टुरिजम प्रोजेक्टको सहकार्यमा सञ्चालित यो तालिम काठमाडौंको एक होटलमा शुरु भएको हो । तालिममा सहभागी ३० जना ट्रेकिङ व्यवसायी तथा अफिस प्रोटोकल हेर्ने कर्मचारीहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगमार्फत अनलाइन पर्यटन प्रवद्र्धन, डिजिटल मार्केटिङ, सामग्री सिर्जना, अनलाइन क्याम्पेन सञ्चालन, डिजिटल ब्रान्डिङ, यात्रा सूचनाको व्यवस्थापन र ग्राहक सेवा स्वचालनजस्ता विषयमा व्यावहारिक अभ्यास गराइने टानका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाईंले जानकारी दिए ।
उनले भने, “नेपाल त्यत्तिकै पनि यो आईसिटीमा धेरै नै पछाडि छ र अब पछिल्लो समय एआई आइसकेपछि झनै एआईलाई हामीले टुरिजममा, टुरिजमको प्रमोशनमा, डिजिटल प्रमोशनमा मेनस्ट्रिमिङ गरिएन भने त पछाडि परिहाल्छौँ । हाम्रो ट्रेकिङ कम्पनीमा, ट्रेकिङ व्यवसायमा संलग्न व्यवसायीहरूको क्षमता विकासका लागि यो ट्रेनिङ आयोजना गरिएको छ ।”
विश्व पर्यटन बजारमा कडा प्रतिष्पर्धा भइरहेको अवस्थामा एआईको प्रयोगले नेपालको ट्रेकिङ तथा पर्यटन क्षेत्रलाई नयाँ उचाईमा पु¥याउन महत्वपूर्ण भुमिका खेल्ने प्रशिक्षक सुमन बरालले बताए । उनले भने, “अहिले प्रतिस्पर्धाको जमाना भएकाले नेपालका सम्पूर्ण पर्यटन क्षेत्रहरूलाई प्रवद्र्धन गर्नका निमित्त र देशको पर्यटन क्षेत्रमा विकास गर्नका लागि यो कार्यक्रमले सहयोग पु¥याउनेछ ।”
प्रशिक्षार्थीहरूकाअनुसार यो तालिमले दैनिक कामलाई निकै सहज बनाउने र पुरानो शैलीको प्रचारप्रसारभन्दा एआईको प्रयोगले धेरै छिटो र प्रभावकारी नतिजा दिने विश्वास व्यक्त गरेका छन् ।
प्रशिक्षार्थी सलोना ढुङ्गानाले एआईको प्रयोगले आगामी दिनमा धेरै सजिलो हुने बताइन् । उनले आफूले गर्ने काम र एआईको प्रयोगले गर्ने कामको गतिमा आकाश जमिनको फरक रहेको उनको ठम्याइ छ । उनले भनिन्, “आफूले गर्ने काम र एआईको प्रयोगले गर्ने कामको गतिमा आकाश–जमिनको फरक छ ।”
आफूले दैनिक रुपमा प्रयोग गर्दै आएका कृत्रिम बुद्घिमत्ता (एआई) भन्दा बाहेकका अन्य कृत्रिम बुद्घिमत्ताका बारेमा सिक्न पाएको प्रशिक्षार्थी ऋषिप्रसाद नेपालले बताए । उनले आजका डिजिटल मार्केटिङका लागि प्रवद्र्धन कसरी गर्ने, कृत्रिम बुद्घिमत्ताको प्रयोग गरेर आफ्नो कम्पनीको प्रचार कसरी गर्ने भन्ने विषयको ज्ञान लिएको बताए । यस कार्यक्रममा ग्राहकहरुका इमेललाई अटोमेसनको माध्यमबाट जवाफ फर्काउने विषय सिक्न पाएको उनले बताए । उनले भने, “ग्राहकहरूका इमेललाई अटोमेसनको माध्यमबाट जवाफ फर्काउने विषय सिक्न पाएकोमा निकै खुशी छु ।”
नयाँ जमानामा पुरानो तरिकाले कम्पनीको प्रचारप्रसार गर्दा प्रभावकारी नहुने भएकाले आफू यस कार्यक्रममा आएको अर्की प्रशिक्षार्थी रितिका धमलाले बताएकी छन् । उनले आधुनिक युगमा एआईको प्रयोग गरेर नेपालको पर्यटन क्षेत्रको प्रचार गरेको अवस्थामा देशमा पर्यटकहरुको आमन बढाउन सकिने बताइन् ।
उनले भनिन्, “नयाँ जमाना आएको छ, पुरानो तरिकाले कम्पनीको प्रचारप्रसार गर्दा प्रभावकारी हुँदैन। एआईको प्रयोगले नेपालको पर्यटन क्षेत्रको प्रचार गर्दा विदेशी पर्यटकको आगमन बढाउन सकिन्छ ।”
आयोजककाअनुसार तालिमबाट सहभागीहरूले आन्तरिक कार्यव्यवस्था सुधार्ने, ट्रेकिङ प्याकेजहरूलाई अन्तर्राष्ट्रिय बजारमा आकर्षक ढंगले प्रश्तुत गर्ने र एआईको सहयोगमा प्रतिष्पर्धी क्षमता वृद्धि गर्न सक्नेछन् भन्ने अपेक्षा गरिएको छ ।

