काठमाडौं। यस वर्षको दशैं अवधिभर पनि मनसुनी वायुको प्रभाव रहने भएकाले टीकाको दिन विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले सार्वजनिक गरेको दशैं विशेष मौसम बुलेटिन अनुसार अष्टमी (असोज १४), नवमी (असोज १५) र दशमी असोज १६ का दिन विभिन्न प्रदेशका पहाडी तथा तराई भू(भागमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने देखिएको छ।
बुलेटिन अनुसार अष्टमी (असोज १४) का दिन बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा वर्षा। नवमी (असोज १५) कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा वर्षा।
दशमी (असोज १६) बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा कोशी प्रदेशका पहाडी-तराई भू- भागमा, साथै मधेश र सुदूरपश्चिमका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा।
नेपालमा मनसुनको औसत बाहिरिने मिति अक्टोबर २ भए पनि यस वर्ष अझै मनसुन बहिर्गमन नभएको विभागको भनाइ छ। दशैं अवधिभरै मनसुनी वायुको असर रहने भएकाले मौसमबारे अद्यावधिक जानकारी लिन र आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

