काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले संसदीय दलको नेतालाई हटाउने पार्टी संसदीय दलको विधानमा राखिएको प्रावधानलाई प्रधानमन्त्री बालेन्द्र साहलाई हटाउने भनि गलत नियतका साथ अपब्याख्या गरिएको दावी गर्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
बुधवार प्रधानमन्त्री बालेन्द्र साहलाई संसदीय दलको नेताबाट जुनसुकै बेला पनि हटाउन सक्ने भनि राखिएको प्रावधानबारे सञ्चारकर्मीहरुले जिज्ञासा राखेपछि उपनेता पराजुलीले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले विधानमा पार्टी संसदीय दलको नेता मात्रै नभएर पार्टी सभापति रवि लामिछाने, उपनेता म स्वयमको पनि हटाउन सक्ने प्रावधान राखिएको तर संसदीय दलको नेता मात्रै हटाउने प्रावधान राखिएको भनेर त्यसको अपब्याख्या गर्न खोजिएको दाबी गरे । उनले पार्टीको विधान कुनै व्यक्ति वा पदलाई हेरेर भन्दा पनि पार्टीको प्रभावकारितालाई हेरेर बनाउने भएकाले सोही अनुसार बुझन उपयुक्त हुने धारणा समेत राखे।
उपनेता पराजुलीले भने,‘यसमा अन्यथा किन लिनुपर्दैन । किनभने अन्य पदाधिकारीको जस्तै पदको अन्त्य कहिले हुन्छ, कसरी हुन्छ ? भनेर व्याख्या गरेजस्तै संसदीय दलको नेताका पनि पदको अन्त्य कसरी हुन्छ भनेर व्यवस्था गरिएको एउटा व्याख्या मध्येको व्याख्या भएको हुनाले यहाँहरुले यसलाई जुन आशयका साथ उठान गर्नुभएको छ, त्यो नियतसँग जोडेर हेरेको कारणले यसको अपब्याख्या भएको हो कि भन्ने मेरो बुझाई छ । तर त्यसरी लिनु नै भएन । त्यहाँ संसदीय दलको उपनेताको पनि व्यवस्था गरिएको छ । तर यसको चर्चा भएन नि । सभापतिको पनि पद कसरी हटछ ? भन्ने कुराको त चर्चा भएन नि । तर विधानमा यी सबै कुराहरुको परिकल्पना गरिएको हुन्छ । विधान एउटा व्यक्ति वा पद हेरेर पार्टीलाई आगामी दिनमा अगाडि बढाउँदै गर्दा कसरी प्रभावकारी बनाउन सकिन्छ ? भन्ने उद्देश्य राखेर विधान बनाइएको हुन्छ ।’
उपनेता पराजुलीले सबै पार्टीको विधानमा संसदीय दलको नेतालाई हटाउने व्यवस्था विधानमा गरेको हुने तथ्य पनि नभुल्न सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन् ।

